कृष्णपुर नगरपालिकाको उदार पहल: मानसिक समस्यामा परेका दुई दाजुभाइको पूर्ण उपचारको जिम्मा लिएपछि सबै भावुक

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले वडा नम्बर ५ का मानसिक समस्याबाट ग्रस्त दुई दाजुभाइको निःशुल्क उपचारको पूर्ण जिम्मा लिएको छ। आमा–बुबा गुमाएर आश्रयविहीन बनेका ती दाजुभाइको अवस्था दिनदिनै बिग्रँदै गएपछि नगरपालिकाले आफ्नै पहलमा धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गराएको हो।

CP Hospital Dhangadhi

मेयर हेमराज ओझाका अनुसार आर्थिक अभावका कारण उपचार सम्भव नभएको थाहा पाएलगत्तै दुवै दाजुभाइलाई नगरपालिका–गाडीमै राखेर अस्पताल पुर्‍याइएको हो। “उपचार खर्चमा छुटका बारेमा अस्पतालसँग छलफल भइसकेको छ, बाँकी सबै खर्च नगरपालिका नै बेहोर्छ,” मेयर ओझाले बताए। पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यसम्बन्धी चुनौती बढ्दै गएको भन्दै उनले समुदायमै समस्या फैलिन नदिन नगरपालिका सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए।

दुवैमध्ये दाइको अवस्था केही स्थिर भएकाले उनीलाई मानवसेवा आश्रममा राख्ने तयारी भइरहेको छ। तर भाइको अवस्था गम्भीर रहेकाले उहाँलाई काठमाडौं वा अन्य उन्नत उपचार केन्द्रमा लैजानुपर्ने सम्भावना रहेको मेयर ओझाले बताए। “जो जसलाई जे आवश्यक छ, नगरपालिका सहयोग गर्न सधैं तयार छ,” उनले थपे।

स्थानीय बासिन्दा सुरेश बि.कले दाजुभाइको अवस्था गाउँमै असहज बन्दै गएपछि मेयरसँग सहयोग मागिएको बताए। “मेयरसापले साँच्चिकै नगरपिताको भूमिका खेलिरहनुभएको छ। यस्तो ठूलो मनका नेता दुर्लभ हुन्छन्,” उनले अभिव्यक्ति दिए।

दुवै बिरामीकी दिदी बसन्ती बि.कले भाइहरूको दयनीय अवस्था देखेर आफू मानसिक रूपमा कमजोर बनेको बताइन्। “घर भत्किएको छ, खान–लाउन अभाव, कमाउने हात नै बिरामी। अहिले नगरपालिका र अस्पतालको सहयोग जीवनकै ठूलो सहारा हो,” उनले भनिन्।

कृष्णपुर नगरपालिका पछिल्लो समय आर्थिक अभावले उपचार गर्न नसक्ने नागरिकलाई अस्पतालसँग सहकार्य गरी निःशुल्क वा छुटसहितको उपचार उपलब्ध गराउँदै आएको छ। मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिका समुदायमा जनचेतना र सहजीकरण कार्यक्रम विस्तार गरिरहेको मेयर ओझाले बताए।