
धनगढी उपमहानगरपालिका–१२ जुगेडामा गोल्डेन ज्योति बोर्डिङ स्कूलको आयोजनामा र माया मेट्रो अस्पताल प्रा.ली.को सहयोगमा सञ्चालन गरिएको नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शुक्रवार विद्यालय परिसरमा आयोजित शिविरमा ३५७ जनाले स्वास्थ्य सेवा लिएका छन्, जसमा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिकासहित वडाका अन्य स्थानीयवासीसमेत सहभागी थिए।

शिविरमा उपस्थित चिकित्सकहरूले विभिन्न रोगसम्बन्धी स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श प्रदान गरे। स्थानीयवासी र अभिभावकहरूले गाउँमै गुणस्तरीय स्वास्थ्य सुविधा पाएकोमा खुशी व्यक्त गर्दै यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो।
गोल्डेन ज्योति बोर्डिङ स्कूलले जनहितकारी पहलमार्फत स्थानीय समुदायलाई स्वास्थ्य सुविधा पुर्याउन योगदान गरेको उल्लेख गर्दै, कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद व्यक्त गरेको छ। माया मेट्रो अस्पतालसँगको सहकार्यले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अवसर सुनिश्चित भएको पनि विद्यालयले जनाएका छन्।
कार्यक्रमले विद्यार्थी र स्थानीयबासीबीच स्वास्थ्य सचेतना बढाउने, रोग पहिचानमा सहजता ल्याउने र समाजमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने महत्त्वपूर्ण भूमिका खेलेको छ। यस प्रकारका पहलले समुदाय र शैक्षिक संस्थाबीच सहकार्यलाई अझ बलियो बनाउने र भविष्यमा यस्ता कार्यक्रमको निरन्तरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।































