स्थानीय तहहरू जटिल मोडमा छन: कृष्णपुरका मेयर हेमराज ओझाले बजेट र स्रोत संकटको अवस्था औँल्याए

Image
Nisarga Hospital

अत्तरियाः कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले स्थानीय तहहरू अहिले जटिल मोडमा रहेको बताएका छन्। शनिवार मौरीफाँटा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको समुद्घाटन र वार्षिक साधारण सभामा बोल्दै उनले नगरपालिकामा बजेट बनाउन कठिनाइ, सीमित स्रोत साधन र कर आम्दानीमा न्यून योगदान रहेको अवस्था औँल्याए।

CP Hospital Dhangadhi

कृष्णपुरका नगर प्रमुख हेमराज ओझाका अनुसार, नगरपालिकाको वार्षिक १ अर्बको बजेटमा २५ करोड सामाजिक सुरक्षा भत्तामा जाने र कर आम्दानी न्यून भएर केवल ९ करोड मात्र स्थानीय स्तरमा बाँकी रहने गरेको छ। उनले संघ र प्रदेशबाट आउने अनुदान र राजश्व बाडफाडमा अनियमितता र ढिलाइले पनि चुनौती थपेको बताए।

जेनजी आन्दोलनले उद्योगबाट कर संकलनमा समस्या ल्याएको र तलब दिन समेत कठिनाइ भएको उनले बताए। मेयर ओझाले भने, “नियमित पैसा आउन छोडेको छ, तर चुनौतीका बाबजुद हामी शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा काम गर्न आफ्नै स्रोत साधन प्रयोग गरिरहेका छौँ।”

उनले जग्गा नापजाँचका लागि ल्याएको मेसिन र कागजात जेनजी आन्दोलनमा जलेको, र आन्दोलनका कारण २५ करोड बजेट रोकिएको पनि जानकारी दिए।

साथै, मेयर ओझाले मौरीफाँटा खानेपानीले आफ्नो सेवा विस्तार गर्न चाहेमा नगरपालिकाबाट पाइप उपलब्ध गराइने घोषणा पनि गरे। हाल ८ सय घरधुरीलाई लक्षित गरिएको खानेपानी सेवा ४३९ घरमा मात्र विस्तार भएको छ, र बाँकी घरधुरीलाई सेवा पुर्‍याउन अतिरिक्त पाइपको व्यवस्था गरिने बताए।

यो प्रयासले स्थानीय तहहरू सीमित स्रोतका बाबजुद नागरिक सेवामा सुधार ल्याउने लक्ष्य राखेको देखिन्छ।