
नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल भोलि सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी आउने कार्यक्रम तय भएको छ। उनी हवाई मार्गबाट बिहानै धनगढी पुग्ने बताइएको छ। गृहसचिव र सुरक्षा निकायका आईजीपीहरू पनि भोलि नै धनगढी पुग्नेछन्।

उनीहरू मङ्सिर १६ गते धनगढीमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन लागेका हुन्। उक्त गोष्ठी आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित सुरक्षा तयारी र रणनीति समीक्षा गर्ने उद्देश्यले आयोजना हुँदैछ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्तिसुरक्षा, अपराध नियन्त्रण, सीमा सुरक्षा र चुनौतीपूर्ण विषयहरूका प्रतिवेदन पेस गरिनेछ। यसबाट प्रदेशका सुरक्षा निकायहरूबीच समन्वय, रणनीति समीक्षा र आगामी निर्वाचनसहित अन्य महत्वपूर्ण सुरक्षा तयारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति र प्रदेशस्तरीय सुरक्षा गोष्ठीले सुदूरपश्चिममा शान्ति, सुरक्षा र व्यवस्थापन सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।



























