
अत्तरिया: “रक्तदान–जिवनदान, सरसफाइ–स्वस्थ समाज” भन्ने नारा सहित स्याउलेबजार, गोदावरी–८ मा बृहत्त रक्तदान तथा सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बजार व्यवस्थापन समितिको मुख्य आयोजनामा मंसिर २० गते शनिबार भएको कार्यक्रममा स्थानीय युवाक्लब, विद्यालय र समुदायको उल्लेखनीय सहभागिता रह्यो।

स्याउलेबजार समिति अध्यक्ष गोपाल देउवाले बताएअनुसार, हालैको रक्तदान कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको छ। “रक्तदान–जिवनदान, सरसफाइ–स्वस्थ समाज” भन्ने नाराका साथ गाउँभर सरसफाइ अभियान चलाइएको थियो। उनले जनचेतना फैलाउन बाजागाजा सहित सन्देश प्रवाह गरिएको जानकारी दिनुभयो। जनता स्वयंसेवकहरू सक्रिय भई सरसफाइमा संलग्न भएका र रक्तदानमार्फत जीवनदानको महत्वबारे जानकारी प्राप्त गरेको उनले बताए। यस प्रकारको पहलले स्वस्थ समाज निर्माणमा ठूलो योगदान पुर्याउने उनको विश्वास छ।

रगत दिनुहोस्, जीवन बचाउनुस् भन्ने उद्देश्यसहित आयोजित रक्तदान कार्यक्रममा युवादेखि अगुवा नागरिकसम्म सक्रिय सहभागिता देखियो। सरसफाइ अभियानमार्फत बजार क्षेत्र र बस्ती वरपरको वातावरण सफा राखेर स्वस्थ समुदाय निर्माणमा सबैको सामूहिक प्रतिबद्धता झल्किएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३३ रिजर्भ गण बन्हेडा, स्याउले आधारभूत स्वास्थ्य सेवा केन्द्र, श्री दुर्गा मावि, श्री दुर्गा ज्योति इंग्लिस स्कूल, श्री समेनी मावि लगायत स्थानीय युवा क्लबहरूको सहयोग उल्लेखनीय रह्यो।

बजार व्यवस्थापन समितिले समुदायको स्वास्थ्य, स्वच्छता र एकतालाई सुदृढ गर्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
































