३७ वर्षको समर्पित सेवापछि प्राचार्य नेत्र प्रसाद भण्डारीलाई गोदावरी–१२ कोल्मुडामा भव्य विदाई

Image
Nisarga Hospital

गोदावरी नगरपालिका–१२ कोल्मुडास्थित दुर्गा माध्यमिक विद्यालयका नि. प्राचार्य नेत्र प्रसाद भण्डारीलाई अनिवार्य अवकाशपछि सोमबार एक भव्य तथा भावनात्मक समारोहका बीच सम्मानपूर्वक विदाई गरिएको छ। विद्यालयको आयोजनामा र पूर्व विद्यार्थी समाजको विशेष सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडाध्यक्ष भिमबहादुर खड्का सहभागी थिए।

CP Hospital Dhangadhi

वडाध्यक्ष खड्काले भण्डारीले करिब ३७ वर्षसम्म यस विद्यालयमा निरन्तर सेवा दिएको उल्लेख गर्दै शिक्षा–क्षेत्रमा उनले पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। स्थानीयबासी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र पूर्वविद्यार्थीले बाजागाजा सहित गरेको सम्मानजनक विदाइ भविष्यका शिक्षकहरूका लागि प्रेरणादायी बन्ने विश्वास उनले व्यक्त गरे।

nawajiwan

विदाई कार्यक्रममा भावना पोख्दै पूर्व प्राचार्य भण्डारीले आफूलाई बृहत रूपमा सम्मान गरेर विदाई गरेकोमा विद्यालय समुदाय, वडाका जनप्रतिनिधि र पूर्वविद्यार्थी समाजप्रति कृतज्ञता व्यक्त गरे। उनले २०३० सालमा यसै विद्यालयमा विद्यार्थीका रूपमा यात्रा सुरु गरेको, २०४६ सालमा शिक्षण पेशामा प्रवेश गरेको र २०७९ सालदेखि प्राचार्यको जिम्मेवारी सम्हालेको स्मरण गरे। कार्यकालनमा अभिभावक, विद्यार्थी, शिक्षक तथा सरोकारवालाबाट पाएको माया–सम्मानकै कारण विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफूले सक्दो प्रयास गरेको बताए।

Attariya Hospital

कार्यक्रममा बोल्दै विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षक अभिभावक संघका अध्यक्ष कर्णबहादुर साउदले भण्डारीको विदाई कार्यक्रम पूर्वविद्यार्थीहरूको आर्थिक सहयोगमा, विद्यालयमा एक रुपैयाँ पनि खर्च नगरी सम्पन्न गरिएको जानकारी दिए। भण्डारीले आफूलाई “माला मात्र लगाएर विदाई गर्नू, विद्यालयको रकम खर्च नगर्नू” भनेर आग्रह गरेपछि पूर्वविद्यार्थीहरूले सोही अनुरूप भव्य कार्यक्रम आयोजना गरेका थिए।

भण्डारीको कार्यकालनमा विद्यालयमा शिक्षण गुणस्तर सुधारसँगै भौतिक विकासमा पनि महत्त्वपूर्ण प्रगति भएको साउदले उल्लेख गरे। कोल्मुडामा माध्यमिक तह सञ्चालनका लागि प्रत्येक घरबाट चन्दा संकलन गरेर सहयोग जुटाउने कार्यमा भण्डारी अग्रपंक्तिमा रहेको स्मरण गरियो। उनका पहल तथा नेतृत्वमा ‘बिल्ड अन नेपाल’ ले तीन कोठे भवन निर्माण गरिसकेको र थप दुई कोठे भवन निर्माण प्रक्रियामा रहेको विद्यालयले जानकारी दिएको छ।

हाल दुर्गा माध्यमिक विद्यालयमा करिब २५० विद्यार्थी अध्ययनरत छन्। कार्यक्रमले विद्यालय, समाज र पूर्वविद्यार्थीबीचको भावनात्मक सम्बन्धलाई झन् मजबुत बनाएको सहभागीहरूले बताएका छन्।