
कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। वडा नं. १ को आयोजनामा साइन रेसुङ्गा डेभ्लोपमेन्ट बैंक, अत्तरिया शाखाको आर्थिक सहयोग तथा पद्यमा अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।

वडा अध्यक्ष गोपालदत्त भट्टले भौतिक विकाससँगै आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए। वडाले उपलब्ध स्रोत–साधनको उचित उपयोग गर्दै सरकारी तथा गैरसरकारी संघसंस्थासँग समन्वय गरी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको उनले उल्लेख गरे।
साइन रेसुङ्गा डेभ्लोपमेन्ट बैंकका अत्तरिया शाखा प्रवन्धक घनश्याम भट्टराईले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको र वडा नं. १ सँग सहकार्य गरी स्वास्थ्य शिविर आयोजना गर्न पाउँदा खुशी लागेको बताए।
पद्यमा अस्पतालका डा. गणेश फुलाराले शिविरमा सुगर, प्रेसर जाँचसहित सम्पूर्ण ओपीडी सेवा र जटिल समस्यामा आवश्यक परामर्श प्रदान गरिएको जानकारी दिए।
वडा नं. १ ले नागरिकको आवश्यकता र अपरिहार्यतालाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ।




























