
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, कैलाली बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष दिपक रोस्याराले क्याम्पस तथा देशको समग्र शैक्षिक अवस्थाबारे मिडियामार्फत धारणा सार्वजनिक गरेका छन्।

उनले शैक्षिक संस्थाहरू अध्ययन र अनुसन्धानको केन्द्र हुनुपर्ने भए पनि हाल त्यसअनुसारको वातावरण नबनेको उल्लेख गरे। क्याम्पसमा आधारभूत पूर्वाधारको अभाव, शैक्षिक गुणस्तरमा आएको गिरावट, समयमा कक्षा सञ्चालन नहुनु तथा परीक्षा प्रणालीमा देखिएका समस्याप्रति उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराए।
अध्यक्ष रोस्याराले भने,
“विद्यार्थीहरू आफ्नो भविष्य निर्माणका लागि क्याम्पसमा आउँछन्, तर अव्यवस्थित शैक्षिक प्रणालीका कारण निराश हुनुपरेको अवस्था छ। यसप्रति सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ।”
उनले विद्यार्थी राजनीतिलाई अनुशासित, रचनात्मक र विद्यार्थी हितकेन्द्रित बनाइनुपर्नेमा जोड दिँदै भने कि विद्यार्थी राजनीति पद वा सत्ता केन्द्रित नभई अधिकार रक्षा र शैक्षिक सुधारका लागि हुनुपर्छ। साथै, राष्ट्रियता, संस्कार र मूल्य–मान्यताको संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले जिम्मेवार र सचेत विद्यार्थी समाज निर्माणमा संगठन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
अन्त्यमा, अध्यक्ष दिपक रोस्याराले सम्पूर्ण विद्यार्थीलाई अध्ययनप्रति गम्भीर हुन, अनुशासन कायम गर्न र सकारात्मक परिवर्तनका लागि एकजुट हुन आग्रह गर्दै शैक्षिक सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।






























