
फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नयाँ राजनीतिक समीकरण बनाउने तयारीमा छन्। उनी रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग समानान्तर भेटवार्ता गर्दै विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग ‘म्याराथन मिटिङ’ गरिरहेका छन्।

स्रोतका अनुसार बालेनले संविधान र संघीयताको पक्षमा रहेको स्पष्ट पारेका छन्। जेनजी प्रतिनिधि रक्षा बमका अनुसार बालेनले भने, “संघीयता चाहिन्छ, यो संविधान बेस्ट नै छ। कार्यान्वयन गर्नेहरूले गल्ती गरेकाले समस्या भएको हो।” प्रत्यक्ष निर्वाचित कार्यकारीबारे पनि उनी तयार जवाफ दिएका छन्।
विगतमा संघीयतामा प्रष्ट नदेखिएको बालेनले अब नयाँ शक्तिलाई ‘देश विकास पार्टी’ मार्फत जोडेर निर्वाचनमा भाग लिने तयारी गरेका छन्। निकट सहयोगी कुमार व्यञ्जनकारको कुपण्डोलस्थित घरमा राजनीतिक छलफल भइसकेको छ भने पार्टीको कार्यालय पनि शुक्रबारबाट सञ्चालनमा आएको छ।




प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने मिति नजिकिँदै गर्दा बालेनले गृहकार्य तीव्र पारिसकेका छन्।



































