जेनजी आन्दोलनका सहिद दीपक साउँदको घरमा प्रजिअको टोली, परिवारलाई रोजगारीको आश्वासन

Image
Nisarga Hospital

बैतडीमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २० वर्षीय दीपक साउँदको घरमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको नेतृत्वमा सरकारी टोली पुगेको छ। शिवनाथ गाउँपालिका–२ निवासी साउँदको परिवारको अवस्था बुझ्न टोली भदौ २४ गतेको घटनापछि उनको निवासमै पुगेको हो।

CP Hospital Dhangadhi

प्रजिअ पौडेलले दीपक साउँदको परिवारसँग भेट गरी पारिवारिक, सामाजिक तथा आर्थिक अवस्थाबारे जानकारी लिएको बताए। ‘सहिद परिवारको अवस्था बुझ्न उहाँको घरमा पुगेका हौँ। दीपकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छौँ,’ उनले भने, ‘राज्यको तर्फबाट सरकारको उपस्थितिको अनुभूति गराउन र परिवारलाई सान्त्वना दिन हाम्रो प्रयास छ।’

सरकारले यसअघि दीपक साउँदको परिवारलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ भने शिवनाथ गाउँपालिकाले थप एक लाख रुपैयाँ सहयोग गरेको थियो। परिवारसँगको भेटका क्रममा परिवारका कुनै एक सदस्यलाई रोजगारी उपलब्ध गराउने विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले जानकारी दिए। चौधरी ग्रुपले रोजगारी दिन सक्ने जानकारी दिएपछि आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए। सरकारी टोलीको यस कदमलाई पीडित परिवारप्रति राज्यको संवेदनशीलताको संकेतका रूपमा हेरिएको छ।