
अत्तरियाः एकीकृत फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना तथा नमुना टोल सरसफाइ कार्यक्रम गोदावरी नगरपालिका वडा न. ४ को बास्कोटामासम्पन्न भएको छ। एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (ISWM), कैलालीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय सरकार, सामुदायिक संघ–संस्था तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रम मा RUDP का वातावरण इन्जीनियर रिकेश कुमार श्रेष्ठ, कन्सलटेन्ट संस्था BDA का इ. हरे कृष्ण मण्डल, ISWM निर्माण कम्पनि सिचुन प्रोभेन्स का कन्ट्राकट मेनेजर इ. अशोक पाण्डे तथा इ. नन्दराज जोशी को उपस्थिति रहेको थियो, कार्यक्रम को संचालन गर्दै फोहोरमैला व्यवस्थापन विज्ञ तथा मातृभूमि संरक्षण प्रा.लि का प्रबन्ध निर्देशक केशब राज पन्त ले एकीकृत फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना तथा नमुना टोल सरसफाइ कार्यक्रमको जानकारी सँगै ब्यावस्थापन बारे जानकारी दिएका थिए ।
कार्यक्रम सञ्चालन गर्दै एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रबारे जानकारी गराएका केशब राज पन्तले घरायसी फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्ने, पुनःप्रयोग र व्यवस्थापनका उपायबारे सहभागीलाई व्यवहारिक जानकारी दिएका थिए। फोहोर सही तरिकाले व्यवस्थापन गर्न सके वातावरण संरक्षणसँगै स्वास्थ्य जोखिम समेत घट्ने उनले बताए।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले गाउँ–बस्तीलाई सफा, सुन्दर र स्वस्थ बनाउने जिम्मेवारी सबैको साझा भएको उल्लेख गरे। उनले फोहोरमैला व्यवस्थापन र नियमित सरसफाइमा लापरवाही गरेमा वडाबाट प्रदान हुने सेवासमेत रोक्का गरिने चेतावनी दिँदै सबैलाई जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि पूर्व योजना आयोग सदस्य तथा पूर्व मानविय विजय कुँवरले बास्कोटा क्षेत्रको समग्र विकाससँगै फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताए। गाउँघरमा कुहिने फोहोर मात्र नभई अजैविक तथा हानिकारक फोहोरको उचित व्यवस्थापन अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उनले पालिकाको सरसफाइ अभियानमा सबैले सक्रिय सहभागिता जनाउन आग्रह गरे। फोहोर व्यवस्थापनलाई दायित्व नभई संस्कारका रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो।


































