सामुदायिक रेडियो मेलौली एफएम १०१.२ ले छैटौं वर्षमा प्रवेश, सामाजिक रुपान्तरणमा निरन्तर योगदान

Image
Nisarga Hospital

बैतडीको तल्लो स्वराडमा स्थापना भएको सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्ज आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ। विःस २०७६ मा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भई २०७७ पौष १७ गतेदेखि “समृद्धि र विकासका लागि समावेशी आवाज, आफ्नै बोली, आफ्नै शैली” नारा सहित प्रसारण सुरु गरिएको थियो।

CP Hospital Dhangadhi

मेलौली नगरपालिका–१ बाट प्रसारित रेडियो सुदूरपश्चिमका आठ जिल्लासम्म सुनिन्छ भने भारतका केही भागमा समेत श्रोताले सुन्न सक्ने छन्। इन्टरनेट मार्फत मेलौली खबरबाट विश्वभर सुनिने यो रेडियो बिहान ५ बजेदेखि राति ११ बजेसम्म १८ घण्टा निरन्तर प्रसारण गर्दै आएको छ।

रेडियोले सूचना, मनोरञ्जनसँगै सामाजिक चेतना कार्यक्रमहरू पनि प्रसारण गर्दै आएको छ। घरेलु हिंसा, दुव्यसन, बालविवाह, महिला अधिकार, बालबालिका केन्द्रित कार्यक्रम, द्वन्द्व रुपान्तरण, स्वास्थ्य चर्चा, मनोविमर्श सेवा र प्रतिभा प्रस्तुतीकरण जस्ता कार्यक्रमहरू मार्फत समाजमा सुधार र सचेतना फैलाउने प्रयास भइरहेको छ। अध्यक्ष कृष्ण दत्त भट्टका अनुसार रेडियोले भ्रष्टाचार, कुरीति, हिंसा र असुरक्षा जस्ता समस्याबारे आवाज उठाउँदै भव्य र सभ्य समाज निर्माणमा योगदान पुर्‍याइरहेको छ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सिआइनको सहकार्यमा विभिन्न कार्यक्रम प्रसारण गर्दै सामाजिक रुपान्तरणको अभियानलाई सशक्त बनाइरहेको स्टेशन म्यानेजर लक्ष्मण विसीले बताए। रेडियोले समयक्रमअनुसार कार्यक्रम र समाचारलाई परिमार्जन गर्दै आउँदा दिनमा अझ विकसित र सुसंगठित बनाउने योजना बनाइरहेको छ।

रेडियो मेलौलीले छैटौं वर्षमा प्रवेशको अवसरमा श्रोताहरू, विज्ञापनदाताहरू, कर्मचारी, स्थानीय जनप्रतिनिधि, सहकार्यमा रहेका संघसंस्था र शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहयोग र साथको अपेक्षा व्यक्त गरेको छ।