
नेकपा (एमाले) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीले चकित पार्ने तथ्य उजागर गरेको छ। ७७ जिल्लामध्ये ५६ जिल्लाबाट मात्रै प्रतिनिधित्व हुँदा २१ जिल्ला भने पूर्ण रूपमा बाहिर परेका छन्। मकवानपुरदेखि डडेल्धुरासम्मका जिल्ला सूचीमै नदेखिँदा समानुपातिक प्रतिनिधित्वको मर्ममाथि प्रश्न उठ्न थालेको छ।

मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुरा—यी सबै जिल्लाबाट एमालेको समानुपातिक सूचीमा शून्य प्रतिनिधित्व छ।

उता झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व देखिँदा “समानुपातिक कि सीमित क्षेत्रमै केन्द्रित ?” भन्ने बहस चर्किएको छ। भूगोल, समावेशिता र सन्तुलनको सवालमा एमालेको सूचीले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
































