
कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवले दिनप्रतिदिन दर्शकको उत्साह बढाउँदै लगेको छ। महोत्सवमा आज चर्चित नायक पल शाहसहित लोकप्रिय कलाकारहरूले आफ्ना आकर्षक प्रस्तुति दिने भएका छन्। आयोजकका अनुसार आजको कार्यक्रममा पल शाहसँगै शान्ता रानी परियार, अस्मिता जुरेली, ऋतु चौधरी, लाल बोगटी, सुशिला तिरुवा र कुलेन्द्र परियारलगायतका कलाकारले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।

पुस ९ गतेदेखि अत्तरियामा सुरु भएको महोत्सव नवौँ दिनमा प्रवेश गरिसकेको छ। महोत्सव अवधिभर स्थानीय तथा आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा दर्शकको सहभागिता रहँदै आएको आयोजकले जनाएको छ। कला, संस्कृति र मनोरञ्जनलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याएको विश्वास गरिएको छ।

यसअघि बिहीबार आयोजित कार्यक्रममा गायक प्रकाश सपुत, गायिका एन्जिला रेग्मी, गायक तथा हास्य कलाकार निशान परियार, गायक मेघान कठायत र डान्सर गङ्गा थापा मगरलगायतका कलाकारले दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए। कलाकारहरूको दमदार प्रस्तुति र दर्शकको उत्साहजनक उपस्थितिले महोत्सवको माहोल अझै जीवन्त बनेको छ। आयोजकले आगामी दिनहरूमा पनि विविध सांस्कृतिक कार्यक्रममार्फत महोत्सवलाई थप आकर्षक बनाइने जनाएको छ।































