
नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि लेखराज भट्टलाई एकल रूपमा सिफारिस गरेको छ। शुक्रबार बसेको नेकपा एमाले क्षेत्र नं. ४ समन्वय कमिटीको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भट्टलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

समन्वय कमिटीका संयोजक गणेश जिमि साउँदको अध्यक्षता तथा पार्टीकी केन्द्रीय सदस्य सन्तोषी शर्मा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले भट्टको राजनीतिक अनुभव, संगठनप्रतिको प्रतिबद्धता र क्षेत्रप्रतिको योगदानलाई आधार मानेर एकल सिफारिस गरेको जनाएको छ।

संयोजक साउँदले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको संगठन मजबुत बनाउन भट्टको भूमिका निर्णायक रहँदै आएको उल्लेख गर्दै उनलाई पार्टीको “खम्बा”का रूपमा लिइएको बताए।

नेकपा एमालेका केन्द्रीय उपमहासचिवसमेत रहेका भट्ट लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनको एकल सिफारिससँगै कैलाली–४ मा एमालेको चुनावी रणनीति स्पष्ट भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
































