कैलालीको चुरेमा फेरि अवैध साल काठ फँडानी, २०० क्युफिट काठ बरामद

Image
Nisarga Hospital

कैलालीको चुरे गाउँपालिकामा फेरि वन फँडानी र काठ तस्करीको घटना दोहोरिएको छ। डिभिजन वन कार्यालय धनगढीको टोलीले चुरे–२ रानी भुकुडा क्षेत्रको झरना सामुदायिक वनमा छापा मार्दा करिब २०० वटा चिरान गरिएका सालका कडी, फन्टा र फ्रेम बरामद गरेको छ।

CP Hospital Dhangadhi

वन अधिकृत रामविचारी ठाकुरका अनुसार तस्करहरूले हरिया सालका रुख काटेर वनभित्रै चिरान गरी लुकाएका थिए। प्रारम्भिक अनुगमनले संगठित रूपमा वन विनाश भइरहेको संकेत दिएको छ। बरामद कार्यमा खैराला सब–डिभिजन वन कार्यालयका वन अधिकृत, रेन्जर र सशस्त्र वन रक्षकहरूको टोली सक्रिय भएको थियो।

काठसँगै प्रयोग भएका औजार र तस्करीसँग सम्बन्धित प्रमाण संकलन भइरहेको छ। डिभिजन वन कार्यालयले सो क्षेत्रमा अझै काठ लुकाइराखिएको हुनसक्ने आशंकामा खोजतलास र निगरानी जारी राखेको छ।

चुरे क्षेत्र पर्यावरणीय दृष्टिले संवेदनशील भएकाले वन विनाशले भू–क्षय, पहिरो र वातावरणीय असन्तुलन निम्त्याउने खतरा बढाएको विज्ञहरूले चेतावनी दिएका छन्। वन प्रशासनले गस्ती, निगरानी र आकस्मिक छापामार अभियान कडा बनाएको छ।