अत्तरियामा जारी महोत्सवमा आज गायक अर्जुन सापकोटा र गायिका एलिना चौहान लगायतको प्रस्तुति रहने

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–अत्तरिया क्षेत्रमा सञ्चालन भइरहेको सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज (आइतबार) चर्चित गायक अर्जुन सापकोटा र लोकप्रिय गायिका एलिना चौहानको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। आयोजकका अनुसार उनीहरूको प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

महोत्सवमा अर्जुन सापकोटा र एलिना चौहानसँगै चर्चित डान्सर मनिषा सिंह, गायक सुरेश चोखाललगायत अन्य कलाकारहरूले पनि आ–आफ्ना प्रस्तुति राख्नेछन्। विभिन्न विधाका कलाकारहरूको सहभागिताले दर्शकलाई मनोरञ्जनका साथै सांस्कृतिक अनुभूति दिलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यसअघि पौष १९ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव दर्शकहरूको उल्लेखनीय सहभागिता, उत्साहजनक भीड र स्थानीयको मागलाई ध्यानमा राख्दै दुई दिन थप गरी पौष २१ गतेसम्म सञ्चालन गरिने भएको छ। महोत्सवमा स्थानीय उत्पादन, खानपान, हस्तकलाका सामग्री तथा सांस्कृतिक कार्यक्रमहरू समेटिएका छन्।

महोत्सवले स्थानीय कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्नुका साथै पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। आयोजकले दर्शकलाई परिवारसहित सहभागी भई महोत्सवको भरपूर आनन्द लिन आग्रह गरेका छन्।