
बैतडीको मेलौली नगरपालिका–७ काडाबाट दुई वर्षअघि उज्ज्वल भविष्य र परिवारको जीवनस्तर सुधार्ने सपना बोकेर विदेशिएका ३२ वर्षीय मनोज सिंह भाटको रुसी सेनामा कार्यरत रहँदा मृत्यु भएको पुष्टि भएको छ। डीएनए परीक्षणबाट निधन यकिन भएपछि परिवार शोकमा डुबेको छ।

२०८० असोजतिर घरबाट हिँडेका मनोज सुरुमा परिवारसँग सम्पर्कमै थिए। मेलौलीकै दुई जना साथीसँगै रुस पुगेका उनी रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्ध क्षेत्रमा खटिएको कुरा धेरैपछि मात्रै परिवारले थाहा पाएको थियो। केही महिनापछि सम्पर्क टुटेपछि परिवारले उनका साथीसँग सोधखोज गर्दा उनी युक्रेनी आक्रमणमा परेको खबर सुन्दै आएका थिए।
एकदेखि डेढ वर्षसम्म मनोज जीवितै फर्किने आशामा परिवार पर्खाइमा थियो। तर लामो प्रतीक्षापछि मृत्यु पुष्टि भएको खबरले घरमा पीडाको बादल मडारिएको छ। वडा अध्यक्ष रामचन्द्र भट्टका अनुसार परिवारमा अन्तिम समयसम्म पनि झिनो आश बाँकी थियो।
निधन पुष्टि भएपछि शनिबार परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको छ। मनोज परिवारका जेठा छोरा थिए। कमजोर आर्थिक अवस्थाका कारण गाउँमै गाडी चलाउँदै आएका उनी परिवारको सहारा बन्न रुसी सेनामा भर्ती हुन बाध्य भएका थिए। तर विदेशी युद्धभूमिले उनको सपना र जीवन दुवै लियो।






























