बैतडीको सिगासमा उज्यालोको नयाँ युग : चार अर्बको लगानीमा विद्युत् लाइन विस्तार तीव्र

Image
Nisarga Hospital

टेक सिंह धामी/सिगास: बैतडीको सिगास गाउँपालिकामा लामो समयदेखि प्रतीक्षित विद्युत् सेवा विस्तारको काम तीव्र गतिमा अगाडि बढेको छ। स्थानीय सरकार गठन भएयता प्रमुख एजेन्डामध्ये एक मानिएको विद्युत् लाइन विस्तार नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा युरोपियन इन्भेस्टमेन्ट बैंकको पूर्ण लगानीमा सञ्चालनमा आएको हो। करिब चार अर्ब रुपैयाँ लागतको यो योजना डब्लु–थ्री प्याकेज अन्तर्गत कार्यान्वयन भइरहेको छ।

CP Hospital Dhangadhi


परियोजनाअन्तर्गत सिगास गाउँपालिकाका वडा नम्बर १, २, ४, ५ र ६ का निश्चित क्षेत्रहरूमा विद्युत् लाइन विस्तार गरिनेछ। साथै यसै परियोजनामार्फत पाटन नगरपालिका, पुर्चौडी नगरपालिका र सुर्नाया गाउँपालिकामा समेत विद्युत् सेवा पुर्‍याइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।


वडाको सहकार्यमा सर्वेक्षण सम्पन्न भइसकेका तथा छिटफुट रूपमा बाँकी रहेका क्षेत्रहरूमा आगामी जेठ मसान्तसम्म विद्युत् लाइन विस्तार सम्पन्न गर्ने लक्ष्य लिइएको प्राधिकरणका इन्जिनियर दीपक मण्डलले जानकारी दिनुभयो।

nawajiwan
Attariya Hospital

यसैबीच सिगास गाउँपालिकाको श्री अर्जुन माध्यमिक विद्यालयदेखि श्री सनराइज आधारभूत विद्यालयसम्म मुख्य लाइन विस्तारका लागि ८३ वटा पोल आइपुगेको ठेकेदार दिवान सिंह विष्टले बताउनुभयो। उहाँका अनुसार शाखा लाइनका पोल, तार र ट्रान्समिटरजस्ता आवश्यक सामग्री क्रमशः आपूर्ति हुने तयारीमा छन्।

विगतका योजनाजस्तै अधुरो नहोस् भन्ने अपेक्षा स्थानीयवासीको छ। विद्युत् लाइन जडानसँगै विकास निर्माणका कामले गति लिएको देख्दा आफू खुसी भएको स्थानीय ट्र्याक्टर चालक विक्रम सिंह धामीले प्रतिक्रिया दिनुभयो।