
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका अन्तर्गत रहेको जोगबुढा अस्पताल अब औपचारिक रूपमा “जोगबुढा प्रादेशिक अस्पताल” मा स्तरोन्नति भएको छ। सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र परशुराम नगरपालिकाबीच भएको सम्झौतापछि आजदेखि अस्पतालले प्रादेशिकस्तरको सेवा दिन सुरु गरेको हो।

नगर प्रमुख भरत बडायर जोशीले जोगबुढा प्रादेशिक अस्पतालबाट स्थानीय नागरिकलाई अझ गुणस्तरीय, प्रभावकारी र व्यापक स्वास्थ्य सेवा उपलब्ध हुनेमा आफू विश्वस्त रहेको बताए। उनले अस्पताल स्तरोन्नति प्रक्रिया अप्ठ्यारो र लामो भए पनि यसमा सहयोग पुर्याउने सम्पूर्ण पक्षप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।


नगर प्रमुख जोशीले परशुराम नगरपालिकाका नागरिकको स्वास्थ्य सेवामा नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। अस्पताल प्रादेशिकस्तरमा उक्लिएसँगै विशेषज्ञ सेवा, आधुनिक उपकरण तथा जनशक्ति विस्तारको अपेक्षा गरिएको छ। यसले अब स्थानीय बासिन्दालाई सामान्य उपचारदेखि जटिल स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता क्रमशः घट्ने विश्वास गरिएको छ।
































