
चिसो अत्यधिक बढेपछि कञ्चनपुरका तीन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। पछिल्लो केही दिनयता बढ्दो जाडोका कारण बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको हो।

बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि तीन दिनका लागि विद्यालय बिदा दिएको जनाएको छ भने बेलौरी नगरपालिकाले पुस २५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक चिसोले विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै जाडो बिदा दिइएको नगरपालिकाले जनाएको छ।

यसैगरी, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गर्दै सञ्चित हिउँदे बिदाबाट कट्टा हुने गरी मङ्गलबार र बुधबार दुई दिन विद्यालय बन्द रहने जानकारी दिएको छ। लगातार बढेको चिसोले जनजीवन कष्टकर बनेपछि यस्तो निर्णय गरिएको पालिकाहरूले बताएका छन्। चिसोका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।































