
आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने करिब निश्चित भएको छ। कांग्रेस–एमालेले समान रूपमा ७–७ सिट, नेकपाले ३ र जसपाले १ सिट लिनेगरी सहमति अन्तिम चरणमा पुगेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

उनका अनुसार सिट संख्यामा सहमति भए पनि क्लस्टर मिलाउन बाँकी छ। साँझसम्म सबै विषय टुंग्याइने बताउँदै लेखकले नेकपा र जसपाले अझै पूर्ण रूपमा चित्त नबुझाएको उल्लेख गरे।

कांग्रेसले सुरुमा ८ सिट मागे पनि ७ सिटमा सहमत भएपछि नेकपालाई पनि चित्त बुझाउन प्रयास भइरहेको छ। नेकपाले ४ र जसपाले २ सिट माग गर्दै आएका छन्। माघ ११ गते राष्ट्रियसभाका १८ सिटमा निर्वाचन हुँदैछ भने उम्मेदवारी दर्ता बुधबार हुने निर्वाचन आयोगले जनाएको छ।

































