
कैलालीको अत्तरियामा जारी पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको आज फाइनल खेल हुँदैछ। फाइनलमा उपाधिका लागि अनुपमा अलराउन्डर्स र कैनोडा लायन्स आमनेसामने हुने भएका छन्। निर्णायक खेल सशस्त्र प्रहरी बलको अत्तरियास्थित खेल मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ६५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। फाइनल खेललाई दर्शकको उल्लेख्य उपस्थितिले थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।


पुस १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरी आठ वटा टिमको सहभागिता रहेको थियो। ३२ वर्षभन्दा माथिका भेट्रान्स उमेर समूहका खेलाडीहरूले मात्र सहभागिता जनाएका यस प्रतियोगिताले अनुभवी खेलाडीहरूको प्रतिभा र प्रतिस्पर्धात्मक खेल भावना प्रस्तुत गरेको छ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।

































