
अत्तरिया : सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२ ले स्थानीय कला, संस्कृति र प्रतिभालाई उजागर गर्ने एक सशक्त मञ्चको रूपमा अत्तरियामा स्थापित भएको छ। महोत्सवको सुरुवातदेखि अध्यक्ष नरबहादुर राई ले यसलाई केवल मनोरञ्जनको कार्यक्रम होइन, स्थानीय प्रतिभालाई चिनाउने अवसरका रूपमा व्याख्या गर्दै आएका थिए। १३ दिनसम्म चल्ने यस महोत्सवले अध्यक्ष राईको भनाइलाई व्यवहारमा पुष्टि गर्यो, जहाँ कला, संस्कृतिका विविध रूप र युवाको ऊर्जा एकसाथ झल्कियो।
महोत्सवमा स्थानीय बाल कलाकारदेखि सुदूरपश्चिमको मौलिक देउडा गान–नाच, साथै भारतको गढवाल–कुमाउ क्षेत्रका कलाकारहरूले पनि आफ्नो कला प्रस्तुत गरे। विभिन्न प्रस्तुतीहरूले समाजमा सकारात्मक प्रभाव र सांस्कृतिक संवेदनशीलता बढाउने उदाहरण प्रस्तुत गर्यो।
यसै क्रममा, गोदावरी–२ निवासी रुपलाल बिक (रुपेश) महोत्सवको “फरक पहिचान” बने। स्टेज सुरक्षामा उनी अनुशासित, तटस्थ र निरन्तर उपस्थित रहे। कालो चस्मा, कालो ज्याकेट र ‘CYC’ लेखिएको पोशाकमा उनले दर्शकको ध्यान आकृष्ट गरे। धेरैले उनलाई रिटायर्ड प्रहरी वा भिआइपी सुरक्षाकर्मी ठाने। उनको निरन्तर मेहनत, धैर्यता र सामाजिक उत्तरदायित्वप्रति समर्पणले महोत्सवभर चर्चा र प्रशंसा पायो।
रुपेशको प्रतिबद्धता सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्राममा प्रशंसाको विषय बनेको छ। उनले भविष्यमा भिआइपी सुरक्षा वा अन्य सामाजिक उत्तरदायित्व क्षेत्रमा पनि यही प्रकारको भूमिका निर्वाह गर्ने आत्मविश्वास प्राप्त गरेका छन्। अध्यक्ष राईले पनि महोत्सवको मुख्य उपलब्धि स्थानीय प्रतिभालाई प्रवर्धन गर्ने अवसरमा रहेको बताए।
मिलनसार स्वभाव, अनुशासित व्यवहार र कर्मठताका कारण रुपेशले यस महोत्सवमार्फत नयाँ पहिचान बनाएका छन्। “धैर्य गर्यो भने सफलताको फल अवश्य मिल्छ” भन्ने उखानलाई उनले व्यवहारमा प्रमाणित गरेका छन्। सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२ ले स्थानीय प्रतिभालाई उभ्याउँदै अत्तरियामा सांस्कृतिक पहिचान र गौरवको नयाँ उचाइ थपेको छ।






























