
अत्तरिया: कैलालीको अत्तरियामा सञ्चालित करियर स्टेशन पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको सातौँ संस्करणको उपाधि अनुपमा अलराउन्डर्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा कैनोडा लायन्सलाई ३१ रनले पराजित गर्दै अनुपमाले लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो।

टस जितेर ब्याटिङ रोजेको अनुपमाले १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनायो। छैटौँ नम्बरमा आएका प्रेम साउँदले ४० रनको महत्वपूर्ण योगदान दिए। सरोज सुनारले १९ र महेन्द्र चन्दले १६ रन बनाए। कैनोडाका सुरेश सिंह पुजाराले ३ विकेट लिँदै किफायती बलिङ गरे।
१३४ रनको लक्ष्य पछ्याएको कैनोडा लायन्स २० ओभरमा १०२ रनमै समेटियो। अनुपमाका मनोज घटाल, प्रेम साउँद र एकिन्द्र बहादुर बलमेले समान ३–३ विकेट लिए। प्रेम साउँदले ४ ओभरमा मात्र १० रन खर्चिँदै प्रभावशाली बलिङ गरे।


उपाधिसँगै अनुपमाले नगद १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता कैनोडा लायन्सले ६५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पायो। प्रतियोगितामा लोकेन्द्र सिंह थापा बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।
विजेता तथा खेलाडीहरूलाई पिएफए युवा क्लबकी उपाध्यक्ष भगवती साउँदको सभापतित्वमा आयोजित समारोहबीच पुरस्कार वितरण गरिएको थियो।































