
उज्यालो नेपाल पार्टीका उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्यहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने निर्णय गरेका छन्। रास्वपा र उज्यालो नेपाल पार्टीबीचको पार्टी एकता भंग भए पनि उनीहरू एकताको मर्मबाट पछि नहट्ने स्पष्ट सन्देश दिएका हुन्।

एकता भंगको औपचारिक घोषणा भएसँगै दुवै दलले आ–आफ्ना आकस्मिक बैठक बोलाएका छन्। राजनीतिक समीकरण बदलिँदै जाँदा दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ। यस्तै अवस्थामा उज्यालो नेपाल पार्टीका केही केन्द्रीय सदस्यहरूले भने रास्वपासँगको सहकार्य नै उपयुक्त भएको निष्कर्ष निकालेका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अध्यक्षमै रहने तयारीमा रहेको बताइए पनि पार्टीभित्र मतभेद देखिन थालेको छ। स्रोतका अनुसार उज्यालो नेपालले निर्वाचन आयोगमा बुझाएको ५१ सदस्यीय केन्द्रीय समितिमध्ये करिब २० जना सदस्यहरू एकताको पक्षमै अडिग छन्।


“हामी एकताको पक्षमा छौँ, अब उज्यालो नेपालमा फर्किँदैनौँ,” उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले भने, “हामी रास्वपामै रहेर वैकल्पिक राजनीतिलाई अघि बढाउँछौँ।”
डा. जोशी समूह अहिले आन्तरिक छलफलमा जुटेको छ। उनीहरूले आगामी राजनीतिक यात्रा सिद्धान्त, विचार र दीर्घकालीन लक्ष्यका आधारमा तय गरिने बताएका छन्। एकता भंगपछि देखिएको यो अडानले वैकल्पिक राजनीतिक धारमा नयाँ बहस सिर्जना गरेको छ।


















