
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाउँमा आउँदो माघ १२ गतेदेखि थारु माघ महोत्सव २०८२ सुरु हुन लागेको छ। यस महोत्सवको उद्देश्य संस्कृति संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन र आधुनिक कृषि सम्बन्धी ज्ञान साझा गर्नु रहेको आयोजकहरूले बताएका छन्।

थारू कल्याणकारिणी सभा, वरघर भलमन्सा गोदावरी नगर समिति, मजगाउँ थारु सामुदायिक होमस्टे र न्यू खुटिया चारपाते युवा क्लबले संयुक्त रूपमा महोत्सव आयोजना गर्दैछन्। महोत्सव माघ १२, १३ र १४ गते मजगाउँ थारु संग्रहालय परिसरमा सञ्चालन हुनेछ।

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा स्थानीय झाँकी प्रदर्शन, थारु राष्ट्रिय कलाकारको प्रस्तुति, थारु खानपान, कला र सिप प्रदर्शन, कृषि उपज र स्थानीय उत्पादन स्टलहरू रहने छन्।

यस वर्ष विशेष रूपमा लागूऔषध सम्बन्धी जानकारीमूलक नाटक पनि प्रस्तुत हुने तयारी गरिएको छ। वडा सदस्य हरिराम चौधरीका अनुसार, मजगाउँमा आयोजना हुँदै आएको माघ महोत्सवले राना थारु संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेलेको छ।
थारू कल्याणकारिणी सभा गोदावरी नगर समितिले २०६७ सालदेखि निरन्तर माघ महोत्सवको आयोजना गर्दै आएको छ, जसले स्थानीय समुदायमा सांस्कृतिक र सामाजिक चेतना बढाउन मद्दत गर्दै आएको छ।































