
धनगढीः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा निर्वाचन प्रहरी भर्ना प्रक्रिया शुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा शुक्रबारदेखि दरखास्त सुरु भएपछि आवेदन दिनेहरुको भीड लागेको छ। शनिबार पनि बिहानै कार्यालयमा आवेदकहरुको ठूलो उपस्थिति देखिएको छ।

जिल्ला प्रहरीका अनुसार, ४ हजार ९८ जना निर्वाचन प्रहरी भर्ना गरिने तयारी भइरहेको छ। समय सीमित भएको कारण शनिबार पनि दरखास्त लिन प्रक्रिया सुरु गरिएको थियो।
निर्वाचन प्रहरीका लागि आवेदन दिने उत्साहित सहभागिता रहेको प्रहरीले जनाएको छ। यसैगरी, अन्य जिल्लाहरूमा पनि आवेदन दिने क्रम उच्च रहेको छ।
सरकारले यसपटक निर्वाचन प्रहरीको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिएको छ। निर्वाचन सुरक्षा र व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यका साथ दरखास्त दिने युवाहरू उत्साहित देखिएका छन्।






























