
कैलालीको गोदावरी नगरपालिका–२ मा रहेको सुप समावेशी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ। सोही वडास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा गठित दुर्गालक्ष्मी बालक्लबमा आवद्ध विद्यार्थीहरूले समावेशी विद्यालयका बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराएका हुन्।

दुर्गालक्ष्मी बालक्लबका अध्यक्ष पर्वत कठायतका अनुसार क्लबका विद्यार्थीहरूले आफ्नो नास्ता खर्चबाट बचत गरेको रकम र केही चन्दा संकलन गरी सहयोग जुटाएका हुन्। अपांगता भएका बालबालिकाको अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ८२ वटा कपी, ४४ प्याकेट पेन्सिल र ८ प्याकेट कलम गरी करिब १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सुप समावेशी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए।

सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले पृथ्वी जयन्तीको अवसरमा विद्यार्थीहरूले देखाएको माया, सहयोग भावना र नैतिक शिक्षाले आफू निकै प्रभावित भएको बताए। सानै उमेरदेखि सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोग गर्ने भावना विकास हुनु सकारात्मक संकेत भएको उनको भनाइ छ। उनले बालक्लबका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे।

दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू दुर्गालक्ष्मी बालक्लबमा आवद्ध रहेका छन्। बालक्लबले भविष्यमा पनि यस्ता सामाजिक गतिविधि निरन्तर गर्ने जनाएको छ।































