
कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा दुर्गालक्ष्मी नमूना माविकी छात्रा सन्ध्या अवस्थीले प्रथम स्थान हासिल गरेकी छिन्। दोस्रो स्थान सत्यवती एकेडेमीकी विभुति कडायत र तेस्रो स्थान सिद्धबाबा माविकी दिक्षा चौधरीले हात पारेकी छन्।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ हजार, दोस्रो ३ हजार र तेस्रो २ हजार प्रदान गरिएको थियो। पुष २७ गते आयोजित प्रतियोगिता एभरेष्ट एकेडेमीको प्रायोजनमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा गोदावरी नगरपालिका अन्तर मावि स्तरीय रूपमा सम्पन्न भएको हो।
प्रतियोगितामा १७ विद्यालयका २८ जना छात्रछात्रा सहभागी भएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा देशभक्ति र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।































