
धनगढी : सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय धनगढीमा स्थापना गरिने भएको छ। यसका लागि धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्दै पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने निर्णयअनुसार उक्त समझदारी गरिएको हो। बोर्डको आर्थिक वर्ष २०८२/८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको जनाइएको छ।

समझदारीअनुसार धनगढी नगर विकास समितिले कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनेछ। भवनमा विद्युत्, खानेपानी र ढल व्यवस्थाको उपयुक्त सुविधा रहने व्यवस्था गरिएको छ।
त्यस्तै, नेपाल पर्यटन बोर्डले भवनको सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा आवश्यक कार्यालय सामग्रीको व्यवस्थापन गर्नेछ। कार्यालय सञ्चालनसँग सम्बन्धित मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट शुल्क र आवश्यक कर्मचारी व्यवस्थापनको दायित्व पनि बोर्डकै रहनेछ।
समझदारीपत्रको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको हुनेछ भने आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था छ। कार्यालय सार्नुपर्ने वा भवन खाली गराउनुपर्ने अवस्थामा कम्तीमा एक महिनाअघि लिखित सूचना दिनुपर्ने प्रावधान राखिएको छ।
समझदारीपत्रमा धनगढी नगर विकास समितिका अध्यक्ष गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपक राज जोशीले हस्ताक्षर गरेका छन्। यो कदम सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।






























