
अत्तरिया : गोदावरी नगरपालिका–२, अत्तरियामा अवस्थित लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले अभिभावक र विद्यालयबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित एकदिने अभिभावकत्व कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। सोमवार धनगढीमा सम्पन्न उक्त कार्यक्रमले अभिभावकहरूलाई असल अभिभावकत्व, बाल मनोविज्ञान, बालअधिकार तथा अभिभावकका दायित्वबारे व्यवहारिक ज्ञान प्रदान गरेको छ।

कार्यशालामा नेपालको शिक्षा क्षेत्रमा परिचित मोटिभेटर तथा शैक्षिक यात्री क्षेत्र प्रसाद ज्ञवालीले अभिमुखीकरण सत्र सञ्चालन गर्दै अभिभावक र विद्यार्थीबीचको आपसी समझदारीले सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने बताए। उनले अभिभावकलाई शिक्षा, घर र विद्यालयलाई जोड्ने पुलको रूपमा व्याख्या गर्दै अभिभावकको सकारात्मक मार्गदर्शनले विद्यार्थीको आत्मविश्वास, अनुशासन र उपलब्धि बढ्ने उल्लेख गरे। “अभिभावकले प्रेरणा दिन्छन्, विद्यार्थीले उपलब्धि हासिल गर्छन्,” भन्दै उनले अभिभावकको साथ नै विद्यार्थीको सबैभन्दा ठूलो शक्ति भएको धारणा राखे।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक गिरी राज कडायतले मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले देशभरका करिब २३ हजार विद्यालयमा अभिभावकहरूलाई ‘गुड प्यारेन्स’ सम्बन्धी तालिम दिइसकेको जानकारी दिए। उनले लोटस आई स्कुलले दुई वर्षअघि पनि यस्तै प्रकारको अभिभावकत्व कार्यशाला आयोजना गरेको स्मरण गराउँदै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए। बालबालिकाको चौतर्फी विकासमा आमाबुवाको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले बालबालिकालाई दोष दिने प्रवृत्तिभन्दा आत्ममूल्याङ्कन आवश्यक रहेको धारणा व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले विद्यालयले मात्र बालबालिकाको सम्पूर्ण विकास गर्न नसक्ने भएकाले अभिभावक, शिक्षक र समाज सबैको भूमिका महत्वपूर्ण हुने बताए। “विद्यार्थी भनेका काँचो माटो हुन्, जस्तो आकार दिन्छौं त्यस्तै बन्छन्,” भन्दै उनले अभिभावकले विद्यालयसँग निरन्तर सम्पर्क राखी आफ्ना नानीबाबुका समस्या र प्रगतिको जानकारी लिनुपर्नेमा जोड दिए।
कार्यशालामा पीजीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो। विद्यालयले शैक्षिक गुणस्तर वृद्धिसँगै खेलकुद, अतिरिक्त क्रियाकलाप तथा विभिन्न अभिमुखीकरण कार्यक्रममार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर पहल गर्दै आइरहेको जनाएको छ।



































