
धनगढी : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औं स्थापना दिवसको अवसरमा धनगढीस्थित आमाको माया छात्रवासका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र खेलकुदजन्य सामग्री हस्तान्तरण गरिएको छ।

सोमबार आयोजित कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली जिल्ला शाखाले सयुक्त रूपमा दर्जनौं बालबालिकालाई स्टेशनरी, खेलकुद सामाग्री र आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। आमाबाट विछोडिएका विद्यार्थीहरूले बसोबास गर्ने यस छात्रवासमा सामग्री हस्तान्तरणले विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने आयोजकहरूको विश्वास छ।


हस्तान्तरण कार्यक्रममा महासंघका सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष वासुदेव गौतम, निवर्तमान अध्यक्ष श्याम पाठक, कैलालीका अध्यक्ष नर बहादुर नेगी, वरिष्ठ उपाध्यक्ष निम मिश्र लगायत प्रदेश र जिल्लाका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
उक्त अवसरमा महासंघका पदाधिकारीहरूले बालबालिकाको उज्यालो भविष्य निर्माणमा शैक्षिक सामग्रीहरूको महत्व, शिक्षा र खेलकुदका अवसरहरूमा पहुँच सुनिश्चित गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागी बालबालिकाहरूले पनि आफ्नो अध्ययन जीवनलाई अझ सशक्त बनाउन सहयोग पुगेकोमा खुशी व्यक्त गरेका थिए।
यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा पढाइप्रतिको उत्साह बढाउने, परिवारबाट टाढा रहेका बालबालिकालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने र समाजमा सकारात्मक योगदान गर्ने वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।
































