हरियाली सामुदायिक वन उपभोक्ता समूह गुलरियाको १९औँ वार्षिक साधारणसभा सम्पन्न

Image
Nisarga Hospital

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नम्बर ४,५ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा आज सोमबार भव्यताका साथ सम्पन्न भएको छ। वन संरक्षण, दिगो व्यवस्थापन र समुदायको सहभागितालाई केन्द्रमा राख्दै आयोजित साधारणसभामा स्थानीय जनप्रतिनिधि, वन क्षेत्रका अधिकारी, सामुदायिक वनका अध्यक्षहरू तथा उपभोक्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

CP Hospital Dhangadhi

साधारणसभामा सभापति हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठरा रहेका थिए भने कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका वन निर्देशक हेमराज बिष्ट रहेका थिए। त्यसैगरी विशिष्ट अतिथि कञ्चनपुरका जिल्ला वन अधिकृत (DFO) लक्ष्मी राज जोशी, कृष्णपुर–४ का वडा अध्यक्ष धर्मबहादुर सिंह, सव डिभिजन वन वाणीका वन अधिकृत भरत शाह, ईलाका प्रहरी कार्यालय गुलरिया सुरक्षाकर्मीहरु, सामुदायिक वन समन्वय समिती का प्रतिनिधिहरु, संचारकर्मीहरु, स्थानीय समाजसेवी लगायत सामुदायिक वनका उपभोक्ताहरुको उपस्थिति रहेको थियो।

हरियाली सामुदायिक वनकी उपाध्यक्ष उषा थापा मगरले स्वागत मन्तव्य राख्दै सामुदायिक वनले संरक्षण, रोजगारी, हरियाली प्रवर्द्धन र समुदायको जीवनस्तर उकास्न खेलेको महत्त्वपूर्ण भुमिकाबारे जानकारी गराईन। कार्यक्रममा चर्चित डेउडा गायक डिलिराज फुलेराले जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सांस्कृतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप आकर्षक बढाएका थिए।

nawajiwan

साधारणसभामा ६२ जना जेष्ठ नागरिकलाई विशेष सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा चुलिया चौधरी, वीरसिंह खड्का, लक्ष्मी चन्द लगायतका जेष्ठ नागरिकहरू रहेका थिए। जेष्ठ नागरिकहरूको योगदानलाई समाज र सामुदायिक वनको मेरुदण्डको रूपमा सम्मान गरिएको हरियाली सामुदायिक वनका अध्यक्ष जेठाराले बताए। सम्मानपत्र संगै प्रत्येक जेष्ठ नागरिक उपभोक्ताहरुलाई सामुदायिक वनले सम्मान स्वरुप नगद १ हजार ५ सय समेत प्रदान गरेको छ।

Attariya Hospital

प्रमुख अतिथि वन निर्देशक हेमराज बिष्टले सामुदायिक वन नेपालको वन संरक्षण मोडेलकै सफल अभ्यास भएको उल्लेख गर्दै दिगो वन व्यवस्थापन, पारदर्शिता, समावेशिता र स्थानीयको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

त्यस्तै विशिष्ट अतिथि डिभिजन वन कार्यालय कञ्चनपुर का प्रमुख लक्ष्मी राज जोशीले वन नियम, काठ–दाउरा वितरण प्रक्रिया र भविष्यका योजनाबारे जानकारी गराउँदै गुनासो समाधानका लागि सहकार्य गरिने प्रतिबद्धता जनाए।

हरियाली वनका अध्यक्ष नित्यानन्द जेठराले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहभागी सबै अतिथि, उपभोक्ता तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा वन संरक्षणसँगै उपभोक्ताको हक–अधिकार सुनिश्चित गर्ने बताए। त्यस्तै सामुदायिक वनको आ.व ५१/८२ आय व्यय कोषाध्यक्ष दिपेन्द्र सिहले गरेका थिए। ६३ लाख ७२ हजार १ सय १६ रुपैयाको आय-व्यय प्रस्तुत गरिएको थियो भने २ करोड १५ लाख ६० हजार १ सय २७ रुपैयाको आगामी वर्षको वार्षिक कार्ययोजना समेत प्रस्तुत गरिएको थियो।

यसरी हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा समुदाय, वन र विकासलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ भने कार्यक्रमको सञ्चालन शिवदत्त पन्तले गरेका थिए।