
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–८ स्थित स्याउले बजारमा उत्तरायणी पर्व विशेष कार्यक्रमसहित मनाइने भएको छ। स्याउले बजार व्यवस्थापन समितिको आयोजनामा माघ ३ गते खिचडी कार्यक्रम गर्दै पर्व मनाउन लागिएको हो।

बजारस्थित विश्वनाथ महादेव मन्दिर परिसरमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा डेउडा कलाकारहरूको प्रस्तुति रहनेछ। साथै खिचडी, मासको बटुक, तरुल, सखरखण्ड, सेलरोटी, पुरीलगायतका परम्परागत परिकार पकाइने समितिका अध्यक्ष गोपाल देउवाले जानकारी दिए।
संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। उत्तरायणी पर्व सुदूरपश्चिमका पहाडी जिल्लामा परापूर्वकालदेखि नै माघ ३ गते मनाउँदै आइएको पर्व हो। पछिल्ला वर्षहरूमा पहाडबाट बसाइँ सरेर तराईका कैलाली र कञ्चनपुरमा आएका समुदायले पनि यो पर्व धूमधामका साथ मनाउन थालेका छन्।
यस दिन विवाह भएर गएका छोरीबहिनीलाई माइती बोलाई दान–दक्षिणा दिने, सामूहिक रूपमा खाना खुवाउने तथा सेलरोटी दिने चलन रहिआएको छ। उत्तरायणीलाई मिलन र मित्रताको पर्वका रूपमा लिइन्छ। पर्वका अवसरमा महिलाहरूले रनपुतला नाच खेल्दै वीरह र आशाको भाव गीतमार्फत व्यक्त गर्ने परम्परा पनि रहेको छ।






























