
डोटी जिल्लामा केआई सिंह राजमार्ग अन्तर्गत दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला बजार–कुलपाते सडक खण्ड आगामी ६ दिनसम्म बिहान र साँझको समयमा आंशिक रुपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार सडक मर्मत तथा मोड सुधारको काम भइरहेकाले माघ ७ गतेदेखि १२ गतेसम्म निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइनेछ।

जारी सूचनाअनुसार बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ६ः३० बजेदेखि ९ बजेसम्म उक्त सडक खण्डमा सवारी सञ्चालन पूर्ण रुपमा बन्द गरिनेछ। यो निर्णय गत माघ २९ गते सुरक्षा निकायसहित सरोकारवाला निकायहरूको संयुक्त बैठकबाट गरिएको हो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजबहादुर ऐडीद्वारा जारी सूचनामा तोकिएको अवधिमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरिएको जनाइएको छ। सडक सुधार कार्यलाई सुरक्षित, व्यवस्थित र छिटो सम्पन्न गर्न तथा यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी उक्त निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।






























