
नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सात जनाको नाम सिफारिस भएको छ। यसमा यसअघिका प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरसहित अन्य ६ जना नेता समेटिएका छन्। ती ६ जनामध्ये युवा प्रतिनिधिका रूपमा भुवन महराको नाम चर्चामा मात्र होइन, बलियो दाबेदारका रूपमा स्थापित हुँदै गएको छ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लगातार दुई कार्यकाल स्ववियु सभापति रहिसकेका महरा युवाहरूको भरोसा र विश्वास जित्न सफल नेता मानिन्छन्। दुई पटकको स्ववियु सभापतित्व केवल पद होइन, संगठन क्षमता, नेतृत्व कौशल र संघर्षबाट खारिएको अनुभवको प्रमाण बनेको छ। विशेषगरी Gen Z आन्दोलनले उठाउँदै आएको नेतृत्व परिवर्तन, जवाफदेही राजनीति र स्थानीय मुद्दामा केन्द्रित विकासको मागसँग महराको राजनीतिक यात्राले प्रत्यक्ष संगति राख्छ।
कैलाली क्षेत्र नं. ४ मै उर्किएका महरा सो क्षेत्रको सामाजिक, शैक्षिक र राजनीतिक यथार्थका गहिरा जानकार हुन्। क्षेत्रका समस्या, सम्भावना र आवश्यकता बुझ्ने नेताका रूपमा उनी “निकाससहितको विकास” को स्पष्ट खाकासहित अघि बढ्ने पात्रका रूपमा हेरिएका छन्। सडक, शिक्षा, रोजगारी र युवालाई केन्द्रमा राखिएको विकास दृष्टिकोणले उनलाई फरक बनाएको समर्थकहरूको भनाइ छ।


२०७९ सालको स्ववियु निर्वाचनमा महराले भोगेको संघर्षले उनको राजनीतिक दृढता झनै मजबुत बनाएको देखिन्छ। पहिलो पटक टिकट पाउनै कठिन परिस्थितिबाट सुरु भएको यात्रा, बागी उम्मेदवारको चुनौती चिर्दै ३७४ मतसहितको जित, र दोस्रो कार्यकालमा पाँच विद्यार्थी संगठनको संयुक्त मोर्चालाई पराजित गर्दै ४४१ मतसहितको स्पष्ट विजय – यी सबै उपलब्धिले उनको जनआधार र नेतृत्व क्षमता पुष्टि गर्छन्।
युवामाझ बढ्दो समर्थन, संगठनमा देखिएको विश्वास र स्थानीय मतदातासँगको निकटताले भुवन महरालाई केवल “युवा उम्मेदवार” होइन, “जित्ने सम्भावना बोकेको विकल्प” का रूपमा उभ्याएको छ। पहिलो स्ववियु कार्यकाल सफलतापूर्वक पूरा गरी दोस्रो कार्यकाल सम्हालिरहेका महरा अब प्रतिनिधि सभा निर्वाचनमा होमिन अग्रसर देखिन्छन्। कैलाली–४ मा नयाँ ऊर्जा, नयाँ सोच र स्थानीय माटोको आवाज बोकेको नेतृत्व खोजिरहेका मतदाताका लागि भुवन महरा आशाको नाम बन्दै गएका छन्।

















