
धनगढी—नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कैलाली क्षेत्र नम्बर ५ बाट प्रेम आलेलाई प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी स्रोतका अनुसार यसअघि डोटीबाट निर्वाचन लड्दै आएका आले यसपटक भने कैलाली–५ बाट उम्मेदवार बन्ने लगभग पक्का भएको हो।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रेम आले नेकपा एकीकृत समाजवादीबाट डोटी क्षेत्रबाट निर्वाचित भएका थिए। पार्टी एकीकरण र पछिल्ला राजनीतिक घटनाक्रमपछि आले नेकपाबाट कैलाली–५ मा उम्मेदवार बन्न लागेका हुन्।

यसअघि नेकपाले कैलाली क्षेत्र नम्बर ४ बाट हरि चौधरी ‘उत्सव’, ३ बाट विरमान चौधरी र २ बाट राजेन्द्र साउँदलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर १ का विषयमा भने हालसम्म अन्तिम निर्णय नभएको पार्टी नेताले बताएका छन्।

उम्मेदवार टुंग्याउने क्रमसँगै नेकपाले कैलालीमा चुनावी तयारीलाई थप तीव्र बनाएको देखिएको छ।































