पार्टी बचाउने जिम्मेवारी नेतृत्व र कार्यकर्ताको साझा हो

Image
Nisarga Hospital

म भिम बहादुर खड्का, नेपाली काङ्ग्रेसको एक क्रियाशील सदस्य हुँ। कुनै शक्ति केन्द्रको वरिपरि घुम्ने राजनीतिको हिस्सा नभए पनि म जमीनस्तरको राजनीति भोगिरहेको एक साधारण कार्यकर्ता हुँ। पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति गहिरो आस्था राख्ने नाताले अहिलेको परिस्थितिमा मौन बस्नु जिम्मेवारीबाट भाग्नु जस्तै ठानें। यो लेख कसैको पक्ष वा विपक्षमा होइन, नेपाली काङ्ग्रेसको आत्मा जोगाउने प्रयत्न हो।

CP Hospital Dhangadhi
Attariya Hospital

आज नेपाली काङ्ग्रेस गम्भीर मोडमा उभिएको छ। शीर्ष तहमा देखिएको असमझदारी र नेतृत्वबीचको विभाजनको प्रत्यक्ष असर आम कार्यकर्तामा परेको छ। निर्वाचन नजिकिँदै गर्दा यस्तो ध्रुवीकरण हुनु चिन्ताको विषय हो, किनकि नेतृत्व विभाजित हुँदा कार्यकर्ता निरुत्साहित हुन्छन्।

तर इतिहासले देखाएको छ—राजनीतिमा संकट सधैँ अन्त्य होइन, अवसर पनि हुन सक्छ। अहिलेको अवस्थालाई दोषारोपण होइन, आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्छ। मतभेद लोकतन्त्रको सौन्दर्य हो, तर प्रतिशोधको राजनीति पार्टीका लागि घातक हुन्छ।

नेपाली काङ्ग्रेस कहिल्यै एक व्यक्ति वा एक समूहको पार्टी रहेन। विपी कोइरालाको विचार, गणेशमान सिंहको त्याग, किसुनजीको सरलता, गिरिजाबाबुको रणनीति र शुशील कोइरालाको नैतिक राजनीतिले यो पार्टीलाई जीवन्त बनायो। विविधता नै काङ्ग्रेसको पहिचान र शक्ति हो।

यसै सन्दर्भमा, शेरबहादुर देउवाज्यूको योगदानलाई सम्मानका साथ स्मरण गर्नुपर्छ। सुदूरपश्चिमको साधारण परिवेशबाट उठेर पार्टी सभापति र देशको प्रधानमन्त्री बन्नु संघर्ष, धैर्य र निरन्तरताको उदाहरण हो। वरिष्ठ नेताहरूप्रति गरिने व्यवहारले नै पार्टीको राजनीतिक संस्कार मापन हुन्छ।

यसको अर्थ नयाँ पुस्ताको नेतृत्व अस्वीकार गर्नु होइन। गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताले देखाएको साहस र स्पष्टता सकारात्मक संकेत हुन्। नेतृत्व रोज्ने अधिकार हरेक काङ्ग्रेसीको लोकतान्त्रिक स्वतन्त्रता हो।

तर नेपाली काङ्ग्रेस कुनै एक समूहको एकाधिकार स्वीकार गर्ने पार्टी पनि होइन। अनुभव र ऊर्जाबीच सन्तुलन कायम गर्न सकेनौँ भने पार्टी कमजोर हुन्छ।

अबको आवश्यकता स्पष्ट छ—लोकतान्त्रिक मूल्य आत्मसात् गर्दै चुनाव केन्द्रित भएर पार्टीलाई एकताबद्ध बनाउने। महाधिवेशन फेरि पनि आउँछ, तर आज देशलाई निकास दिने जिम्मेवारीबाट काङ्ग्रेस चुक्नु हुँदैन। पार्टी बलियो भए मात्र हामीजस्ता साधारण कार्यकर्ताले गर्वका साथ भन्न सक्छौँ—जय नेपाल।

– भिम बहादुर खड्का
क्रियाशील सदस्य, नेपाली काङ्ग्रेस 🇳🇵