
अत्तरियाः अत्तरिया जेसिज वर्ष २०२६ का नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम अत्तरियामा सम्पन्न भएको छ। सोमबार आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेखराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा गोदावरी नगरपालिका–४ का वडाध्यक्ष हेमप्रकाश मल्ल, वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही, विभिन्न वर्षका अत्तरिया जेसिजका अध्यक्षहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



प्रमुख अतिथि खड्काले जेसिज समाज र युवाका लागि अत्यन्तै महत्वपूर्ण संस्था भएको उल्लेख गरे। उनले जेसिजले युवाको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र सामाजिक उत्तरदायित्व बोध गराउन महत्वपूर्ण भूमिका खेलेको बताए। युवालाई अनुशासित, लगनशील र नेतृत्वदायी बनाउने काम जेसिजले निरन्तर गरिरहेको उनको भनाइ थियो।
यसअघि पुस २६ गते सम्पन्न अत्तरिया जेसिजको १४औँ वार्षिक साधारण सभाबाट वर्ष २०२६ का लागि बमबहादुर बोगटी अध्यक्षमा निर्वाचित भएका थिए। कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष प्रदीप खड्काले नवनिर्वाचित अध्यक्ष बोगटीलाई सपथ खुवाएका थिए। त्यसपछि अध्यक्ष बोगटीले अन्य पदाधिकारीहरूलाई सपथ ग्रहण गराउँदै कार्यभार सम्हालेका छन्।


















