
इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको जनाएको छ। मालाखेती ईप्रकाका डिएसपी रनबहादुर चन्दका अनुसार आज मिति २०८२/१०/०५ गते साँझ करिब ७ बजे गोदावरी नगरपालिका–१ मनहरामा लागू औषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी चन्दको कमाण्डमा इलाका प्रहरी कार्यालय मालाखेती तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुरको बेलडाडी गाउँपालिका–३ का करिब ४५ वर्षीय हरीप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको हो।

खानतलासीका क्रममा चौधरीको साथबाट २० ग्राम १३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको डिएसपी चन्दले जानकारी दिए। बरामद लागू औषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याई थप अनुसन्धान भइरहेको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


















