
नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) आफ्नो निर्वाचन क्षेत्रमा भव्य स्वागतसहित पुगेका छन्। मंगलबार वारेसनाबाट उम्मेदवारी दर्ता गरिसकेका बिष्ट बुधबार काठमाण्डौंबाट हवाई मार्ग हुँदै धनगढी विमानस्थलमा अवतरण गरे।

विमानस्थलमा कांग्रेसका क्षेत्रीय सभापति वसन्त रोकाया, गोदावरीका मेयर वीरेन्द्र भट्ट, पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले बिष्टलाई फूलमालाले स्वागत गरे। स्वागत समारोहमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै बिष्टले भने, “म पवित्र भावना लिएर कैलाली–४ का जनताको सेवा गर्न आएको छु। मेरो कुनै लुकावट छैन, म खुल्ला किताब हुँ।”
उनले आफ्नो ३६ वर्ष लामो कांग्रेस अनुभवको आधारमा क्षेत्रको समग्र विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे। बिष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको अनुभवलाई कैलालीमा लागू गर्दै, जेनजी आन्दोलनको भावना समेटेर अघि बढ्ने योजना रहेको बताए।
बिष्टले पार्टीभित्रको विवाद अन्त भइसकेको र अब सबै कुरा समाधान भइसकेको उल्लेख गर्दै, आफ्नो प्रतिस्पर्धी लेखराज भट्टलाई पनि फोन गरेर स्वच्छ र सभ्य प्रतिस्पर्धा गर्न आग्रह गरेको बताए। उनले परम्परागत गालीगलौजको शैलीलाई परिवर्तन गर्ने र जनताको विश्वास जित्ने लक्ष्य राखेका छन्।
विमानस्थलबाट यालीसहित निर्वाचन क्षेत्रमा पुगेपछि बिष्टले गोदावरी तीर्थ धामको दर्शन गरे। धाममा चलिरहेको बाह्र राशि कुम्भ मेलामा उनले कुम्भ बाटिका र शिवालयमा पूजाआजा गरेका छन्। साथै, धामका महत्त्वपूर्ण व्यक्तित्व तुल्छी गिरीबाट आर्शीवाद लिएका छन्।
उम्मेदवार बिष्टको यहि स्वागत र तीर्थ दर्शनले कैलाली–४ का मतदातामा उत्साह र भरोसा जगाएको छ, जसले आगामी चुनावी अभियानलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।



































