छाउपडी प्रथा सुदूरपश्चिमकाे कु-प्रथा :

Image
Nisarga Hospital

मान सिंह धामी – नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा प्राकृतिक सम्पदाले भरीपूर्ण देश हाे । अहिलेकाे २१ औं शताब्दिमा आएर पनि विभिन्न रुढीवादी, अन्धविश्वास हट्न नसक्नु बिडम्बनाकाे कुरा हाे । अन्धविश्वास रुढीवादी मध्ये हाम्राे सुदूरपश्चिममा छाउपडी प्रथा पनि एक प्रमुख समस्याकाे रुपमा रहेकाे छ । सुदूरपश्चिमका अछाम बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा वा अलग्गै काेठामा बस्न लगाइन्छ । यस्तो गोठलाई छाउपडी कुडी भनिन्छ । म स्वास्थ्य विज्ञानकाे विद्यार्थी भएकाे नाताले र विद्यार्थी बाबुनानीहरूलाई पनि छाउपडी भनेकाे के हाे ? याे कसरी हुन्छ ? यसकाे सामाजिक तथा स्वास्थ्यमा असरहरू के के छन् ? आदि कुराहरूकाे बारेमा याे लेख अति नै उपयाेगी हुने हुँदा छाउपडीकै पेरिफेरीमा रहेर आफूले जानेका, अनुभव गरेका र अध्ययन गरेका कुराहरूकाे आधारमा छाउपडी सम्बन्धी कु-प्रथाकाे बारेमा लेख्ने प्रयास गरेकाे छु ।

CP Hospital Dhangadhi

हुन त नेपालकाे संविधान २०७२ काे भाग -३ माैलिक हक र कर्तव्य अन्तर्गत धारा (२४) मा छुवाछुत तथा भेदभाव विरुद्धकाे हककाे उपधारा १, ३ र ४, मा छुवाछुतकाे बारेमा स्पष्ट उल्लेख गरिएकाे भएता पनि नेपालकाे कानून दैव जानुन भने जस्तै भएकाे छ । जातिय छुवाछुत, छाउपडी प्रथा उन्मूलन हुन सकिराखेकाे छैन् । यस्ता कु-प्रथा अन्त्यका लागि राज्य र अन्य सबै पक्षबाट पहलकदमी हुनु जरुरी छ ।

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ वर्ष भित्रमा सकिन्छ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका प्ररसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

nawajiwan

महिलाहरुको जैविक अवस्थाको कारण शारिरीक विकासको क्रममा निश्चित उमेर समूह वीच प्राकृतिक रुपमा हुने महिनावारीलाई फरक ठाउमा फरक नामले चिनिन्छ । सुदुरपश्चिममा महिनावारी भएको अवस्थालाई छाउ भएको, नछुने, महिनावारी, रजश्वला, रजाेधर्म पनि भनिन्छ । जुन महिलाको जैविक सक्षमताको सूचक हो । तर, यसलाई धार्मिक विषय बनाई हाम्रो समाजको निश्चित भुभाग र समुदायमा सामाजिक कुसंस्कार र कु-प्रथाको रुपमा महिलामाथिको चरम विभेद र हिंसाको विषय बनाइएको छ । त्यस अवस्थामा उनीहरुलाई सुरक्षित रुपमा घरभित्र वस्न, पोषिलो खाना र मानविय सम्मानसहित वाच्न पाउने अधिकारवाट बञ्चित गरी घर वाहिर असुरक्षित, अस्वस्थ र अमर्यादित जीवन विताउन बाध्य पारिएका छन् । यसरी वस्ने असुरक्षित र अस्वस्थ सानो छाप्रोलाई “छाउपडी गोठ भनिन्छ । सुत्केरी भएका महिला र वच्चालाई समेत यस्तै छाप्रामा वा दार्चुला, बैतडीतिर गाई भैंसी बाध्ने गाेठकाे एक कुनामा ११ दिनसम्म बस्नुपर्ने कु-परम्परा रहेकोछ । यही रुढिवादी परम्परालाई छाउपडी कु-प्रथा भनिन्छ ।

महिनावारी अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो । यो प्राचीनकालदेखि नै चलिआएको चलन हाे । मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरा, दार्चुला, बैतडी, डाेटी लगायतका जिल्लाहरूमामा यो प्रथा कायमै छ । महिनावारीका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक-पटक अप्रीय घटनाहरू घटिरहेका हुन्छन् । विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिलाहरू यो परम्पराबाट बढी प्रभावित छन् । सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको चार दिनसम्म घरदेखि टाढाको छाप्रो वा अलग्गै बस्नु पर्ने हुन्छ।

Attariya Hospital

छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ। सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनु पर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य लेखेपढेका घरका छोरी, बुहारी समेत रजस्वला हुँदा घरकाे गाई-भैँसीको दूध खाँदैनन्। यस्तो बेलामा घरमा पालेको गाई-भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन्, गाेरसपात हुदैन भन्ने अन्धविश्वास छ। छाउपडी प्रथा अन्त्य गर्नकाे लागि विभिन्न सामाजिक सङ्घ/संस्थाहरू सक्रिय भएपनि उल्लेख्य प्रगति भने हुन सकेकाे छैन ।

परम्परागत रुढीवादीपन, जनविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानी वा गाईकाे गहुँतकाे छिटाे हाल्ने तथा चाेखिएकाे दिन गहुँत खानुपर्ने र उक्त छाउपडी अवधिभर प्रयाेगमा ल्याइएका लुगाकपडाहरू धाेइपखाली गाईकाे गहुँत छर्कने चलन रही आएकाे छ । यति मात्र नभई महिनावारीभएकाे ५/६ दिन पछि मात्र निजकाे हातकाे खाना पानी चल्ने समेत परम्परा रहेकाे छ । अझै घरकी छाेरीकाे त खाना पानी आठ दिन पछि मात्र चल्ने चलन रहेकाे छ । घरका ईष्ट कुलदेवता चोख्याउनेजस्ता चलन रहिआएकाे छ । प्राचीनकालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुईछाई गरेमा, घरका कुलदेवता रिसाउने र परिवारमा हानी नोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ।

छाउपडी प्रथाका कारण विभिन्न विकृतिहरू देखा पर्ने गरेका छन् । जस्तो कि छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्ने लगायतका घटनाहरू विभिन्न सञ्चार माध्यमबाट सुन्नमा आउँछन् । कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने गरेका छन् । यसका अलावा सन्तुलित भाेजनकाे कमिले कुपाेषण लगायतका नकारात्मक असरहरू देखापर्दछन् । यति मात्र नभई जन्मने सन्तान पनि कम ताैलकाे, समय नपुगि बच्चा जन्मने (Still birth) सुस्तमनस्थिति ( Mental retarded) काे हुने जस्ता समस्याहरू देखा पर्दछन् । ग्रामीण समुदायमा अशिक्षा, गरीबी, कामकाे बाेझ आदिले गर्दा महिनावारी भएका महिलाहरूले व्यक्तिगत स्वच्छता (Personal hygiene) कायम गर्न नसक्दा प्रजनन् नलीकाे संक्रमण (Reproductive tract infection RTI), छाला सम्बन्धी राेगहरू (Dramatitis), तथा शरीरमा जुम्रा समेत पर्ने गर्दछन् ।

पश्चीम नेपालका दार्चुला, बैतडी, अछाम, डाेटी लगापतका धेरै जसो क्षेत्रहरूमा छाउपडी प्रथा त्यहाँको धर्म र सँस्कृति हो, सँस्कृतिको आडमा महिलाहरू माथि गरिने यस्ता अमानवीय व्यवहार मानव अधिकारका विरुद्धमा छन भन्नमा दुईमत नहाेला । सुत्केरी होस वा महिनावारी महिलाका प्रजनन् अंग पाठेघरबाट बिकारयुक्त रगत याेनीमार्ग हुँदै बाहिर आएपछि पछि उनी अछूत हुन्छिन् वा रजश्वला भएकाे मानिन्छ । सुत्केरी अवस्थामा लामो समय सम्म रज्वश्वला भइरहने हुनाले सुत्केरी हुँदा महिलाले जाडो वा गर्मी होस, छाउ अर्थात गोठमा घर र परिवारबाट अलग भएर बस्नु पर्दछ र यस्तो नाजुक अवस्थामा उनले बच्चा र आफ्नो स्याहार आफैंले गर्नु पर्दछ । यतिमात्र नभइ सुत्केरी अवस्थामा उनलाई दुधदही जस्ता पाैष्टिक खानेकुराहरु समेत छुन र खान दिइदैन, पर्याप्त लता कपडा र ओच्छयाउने सरसामान समेत दिइदैन । धारा खोला तथा दहहरुका पानी छुन दिइदैन । उनले कसैलाई छुन समेत हुँदैन । महिनावारी पनि यसै गरी बारिन्छ तर यो भने चार दिन मात्र बारिन्छ । त्यसैले सुदूरपश्चिममा माैलाएकाे छाउपडी प्रथा उन्मूलन गराैं । छाउगाेठ भत्काऔं, समाजमा जनचेतना जगाऔं ।

धन्यवाद !
मान सिंह धामी (औल्लेकी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा) दार्चुला