
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भयरहित, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व रहेको स्पष्ट पार्नुभएको छ। बिहीबार आफ्नै निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत लम्कीमा कार्यकर्तासँगको छलफलका क्रममा उहाँले जेन–जी आन्दोलनपछि उठेका राजनीतिक, सामाजिक सवालहरूलाई नयाँ जनादेशमार्फत सम्बोधन गर्न मुलुकमा निर्वाचन अपरिहार्य भएको बताउनुभयो।

मुख्यमन्त्री शाहका अनुसार जेन–जी आन्दोलनपछि गठन भएको सरकारले निर्वाचनको मिति तोकिसकेको भए पनि केही समययता निर्वाचन हुने–नहुने भन्ने अन्योल सिर्जना गरिएको थियो। यस्ता परिस्थितिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलमा विभिन्न राजनीतिक दलहरूसँग संवाद भएको र त्यसपछि राष्ट्रपति समक्ष बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति सुनिश्चित गरेको उहाँले उल्लेख गर्नुभयो।

सरकारबाट औपचारिक रूपमा निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पनि दलहरू र युवा वर्गसँग पर्याप्त छलफल नभएको भन्दै निर्वाचन नहुने भ्रम फैलाउने प्रयास गरिएको मुख्यमन्त्री शाहको भनाइ थियो। यस्ता भ्रमका बाबजुद सरकार निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन दृढताका साथ अघि बढिरहेको उहाँले स्पष्ट गर्नुभयो।

प्रदेश सरकारको प्रमुखको हैसियतले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु आफ्नो संवैधानिक तथा नैतिक दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै सबै पक्षको सहकार्यमा चुनाव सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले “एकता नै बल हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै एकताबाट मात्रै नयाँ सम्भावना र सकारात्मक परिवर्तन सम्भव हुने विश्वाससमेत व्यक्त गर्नुभयो।
































