
सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जस्तै देखिने एक व्यक्तिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएपछि चर्चा चुलिएको छ। कैलालीको लम्की बजारमा खिचिएको उक्त भिडियोमा बालेन गाडीको अगाडिको सिटमा बसेको दृश्य देखिन्छ भने अन्त्यतिर बालेनकै हुलिया मिल्ने अर्का व्यक्ति गाडीको छतबाट घण्टी बजाउँदै हात हल्लाइरहेका देखिन्छन्।

१३ माघमा कैलाली पुगेका बालेनले हालसम्म सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। उनी तीन दिनमा सुदूरपश्चिमका सबै जिल्लाको भ्रमण गर्दै आज अछाम हुँदै कर्णालीका जिल्लातर्फ लाग्ने कार्यक्रमअनुसार अघि बढिरहेका छन्। डोटीमा रहेका बेला सार्वजनिक भएको उक्त भिडियोपछि सामाजिक सञ्जालमा ती व्यक्तिलाई ‘डमी बालेन’ भनेर टिप्पणी हुन थाल्यो।

तर भिडियोमा देखिएका व्यक्ति ‘डमी’ नभई कैलालीको टीकापुर–१ का २९ वर्षीय स्थानीय गोपाल कोइराला भएको पुष्टि भएको छ। बालेनजस्तै दारी, कालो टोपी, चस्मा र कालो पोशाकका कारण धेरैले उनलाई बालेन ठानेका थिए। वास्तविक बालेन भने प्रहरी स्कर्टिङसहित केही मिनेटअघि नै लम्की पार गरिसकेका थिए।

टीकापुरमा व्यवसाय गर्दै आएका कोइरालाले आफूलाई ‘डमी बालेन’ भनिएकोप्रति दुःख लागेको बताए। चार महिना अघि रास्वपाको सदस्यता लिएको र बालेनको समर्थक भएकै कारण उस्तै भेषभूषा अपनाएको उनको भनाइ छ। “स्वागतका लागि लम्की पुगेको थिएँ, भेट हुन सकेन। अहिले अनावश्यक विवाद बनाइएको छ,” उनले स्पष्ट पारे।































