सहिद दिवसमा अत्तरियाको किड्स जोनमा म्युजिकल ड्रिलको उत्सव: सत्यवती एकेडेमी प्रथम

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा अवस्थित किड्स जोन एकेडेमीले सहिद दिवसको अवसर पारेर अन्तरविद्यालयस्तरीय म्युजिकल ड्रिल प्रतियोगिता आयोजना गरेको छ। शुक्रबार सम्पन्न एकदिने प्रतियोगितामा अत्तरिया क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले देशभक्ति गीतको तालमा अनुशासित ड्रिल र नृत्य प्रस्तुत गर्दै राष्ट्रप्रेम, समन्वय र टिमवर्कको सन्देश दिएका थिए। दर्शक तथा अभिभावकको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न प्रतियोगिताले शैक्षिक गतिविधिसँगै सिर्जनशीलता र शारीरिक सक्रियतालाई पनि प्रोत्साहन गरेको देखियो।

किड्स जोन एकेडेमीका सञ्चालक मदन जोशीका अनुसार प्रतियोगितामा सत्यवती एकेडेमी प्रथम भएको छ। खप्तड विद्या निकेतनले दोस्रो स्थान हासिल गर्दा लोटस आई माध्यमिक विद्यालय तेस्रो स्थानमा सीमित भएको थियो। विजेता विद्यालयहरूलाई एक कार्यक्रमबीच नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो। प्रथम हुने सत्यवती एकेडेमीले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। दोस्रो स्थानमा रहेको खप्तड विद्या निकेतनले नगद ६ हजार रुपैयाँ र तेस्रो स्थान हासिल गरेको लोटस आई माविले नगद ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको जोशीले जानकारी दिए।

प्रतियोगितामा १० वटा विद्यालय सहभागी रहेका थिए भने आयोजक किड्स जोन एकेडेमी स्वयं सहभागी थिएन। विद्यार्थीहरूमा अनुशासन, सहकार्य, राष्ट्रप्रेम र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जोशीको भनाइ छ।

किड्स जोन एकेडेमीले सहिद दिवसको अवसरमा हरेक वर्ष यस्ता सिर्जनशील प्रतियोगिता आयोजना गर्दै आएको छ। यसले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउनुका साथै राष्ट्रप्रतिको भावना अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।