
कैलालीको गोदावरी नगरपालिका–७ स्थित हरैयामा आजदेखि माघी मिलन सांस्कृतिक कार्यक्रम सुरु भएको छ। गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी नगर भलमन्सा (बरघर) समितिले आयोजना गरेको यो कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ। थारु तथा राना थारु समुदायको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरणलाई केन्द्रमा राख्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रमको औपचारिक उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले गरेका हुन्। उद्घाटन समारोहमा नगरउपप्रमुख शारदा देवी रोकाया, वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवक्ता गोपाल दत्त भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल, वडा नं. ७ की वडाध्यक्ष कलावती साउँदलगायत जनप्रतिनिधि, समाजसेवी र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
गोदावरी नगर भलमन्सा समितिका अध्यक्ष मान बहादुर चौधरीका अनुसार पुर्खादेखि चल्दै आएका थारु र राना थारु समुदायका चालचलन, रहनसहन, लोककला र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले माघी मिलन कार्यक्रम आयोजना गरिएको हो। “संस्कृतिको संरक्षणसँगै पहिचानको हस्तान्तरण हाम्रो प्राथमिकता हो,” उनले बताए।
गोदावरी–७ स्थित थारु संग्रहालय परिसरमा सञ्चालन भइरहेको सांस्कृतिक कार्यक्रममा राना थारु समुदायका विविध कला–संस्कृतिको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक कार्यक्रम, परम्परागत नृत्य र सांस्कृतिक झाँकी प्रदर्शन समावेश छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा हरैया गाउँ समाजले लिएको छ।
कार्यक्रममा बोल्दै नगरप्रमुख बिरेन्द्र भट्टले माघीलाई समुदायको एकता, पहिचान र समृद्धिको प्रतीकका रूपमा व्याख्या गर्दै स्थानीय संस्कृतिको संरक्षणमा नगरपालिकाको निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे। १८ गतेसम्म चल्ने यो सांस्कृतिक कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
साथै पालिकाले राना थारु समुदायको कला संस्कृती जोगेर्ना गर्नका लागि दिदै आएको रकमका लागि पालिका भित्र रहेका भलमन्सा, बटघर हरु एक भएर आउन आग्रह गरेका छन । आपसी द्धन्दका कारण तपाईहरुको समूह नै टुक्रिएको देखिन्छ, चौधरी, राना थारु संस्कृती जोगाउन सबै हातेमालो गरेर लाग्न आग्रह गरेका छन ।
विकास, शिक्षा र समावेशी सहकार्यमा प्रतिबद्ध छु : नगरप्रमुख भट्ट
नगरप्रमुख बिरेन्द्र भट्टले आफ्नो कार्यकालको तेस्रो वर्ष सकिन लाग्दा नगरवासीको अपेक्षा, उपलब्धि र चुनौतीबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरूले नगरपालिकालाई रोजगारीको केन्द्रका रूपमा विकास गर्न चाहेको उल्लेख गर्दै उनले समाज निर्माणका लागि गरिएका सकारात्मक कामहरू अपेक्षित रूपमा देखिन नसक्दा दुःख लागेको बताए।
सुदूरपश्चिमकै पहिलो एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र एक अर्ब रुपैयाँ लगानीमा सञ्चालनको चरणमा पुग्दा पनि त्यसको उचित मूल्यांकन नहुनु पीडादायी भएको नगरप्रमुख भट्टको भनाइ छ। “राम्रो कामको चर्चा कम, तर कसैलाई जागिर दिन नसक्दा आलोचना बढी हुने अवस्था देख्दा मन दुख्छ,” उनले भने।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकालाई अगाडि बढाइएको उल्लेख गर्दै उनले शिक्षामा सतप्रतिशत नतिजा ल्याउने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसरह बनाउने लक्ष्यका साथ वर्षेनी करोडौं लगानी गरिएको बताए। तर अपेक्षित उपलब्धि नआउँदा चिन्ता व्यक्त गर्दै विषयगत शिक्षकको अभावभन्दा पनि ‘मेरो मान्छे’ राख्नुपर्ने दबाबले सुधारमा बाधा पुगेको उनको भनाइ छ।
पछिल्लो समय विद्युतीकरणसँगै सडक विस्तारका कामलाई निरन्तरता दिइएको नगरप्रमुख भट्टले जानकारी दिए। थारु समुदायको नयाँ वर्ष तथा नयाँ भलमन्सा चयनको सन्दर्भमा चौथो चरणको सहकार्यलाई सशक्त बनाउन सबै समुदाय एकताबद्ध भएर अघि बढ्न उनले आग्रह गरे।
“म कुनै एक जात वा वर्गको होइन, सबै समुदायको साझा प्रतिनिधि हुँ,” नगरप्रमुख भट्टले भने, “समाजलाई अगाडि बढाउन के गर्नुपर्छ, सबै मिलेर सहकार्य गरौँ।”





























