
अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ र कैलालीको गोदावरी नगरपालिका–३ तथा १० जोड्ने मोहना नदीमाथिको पक्की पुलको शनिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमका बीच पुलको शिलान्यास गर्दै यसले दुवै पालिकाबीचको आवागमन सहज बनाउने विश्वास व्यक्त गरे।


शिलान्यास समारोहमा नगरप्रमुख भट्टले भने, “यो पुल केवल भौतिक संरचना होइन, यहाँका नागरिकको दैनिकीसँग जोडिएको अत्यन्त आवश्यक पूर्वाधार हो। पुल बनेपछि शिक्षा, स्वास्थ्य, व्यापार र आपतकालीन सेवामा ठूलो सहजता आउनेछ।” प्रदेश सरकारको ४ करोड १५ लाख ११ हजार ८५ रुपैयाँ लगानीमा निर्माण हुने पुल २०८३ पुस ३० गतेभित्र सम्पन्न गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिनेछ।

“मोहना पुल केवल आवागमनको साधन मात्र होइन, यहाँको खेलकुद विकासमा पनि योगदान पुग्नेछ। साथै यस क्षेत्रको सडक सञ्जाललाई प्रभावकारी र व्यवस्थित बनाउने हाम्रो प्रतिबद्धता कायम छ। पुल निर्माणसँगै स्थानीयको दैनिकी र समग्र विकासमा ठूलो सहजता आउने विश्वास छ।”
४० मिटर लम्बाइ र ८.२ मिटर चौडाइको पुल निर्माणको ठेक्का धनगढी–५ स्थित असु खप्तड भैरव जेभीले पाएको छ। ठेकेदार कम्पनीका प्रतिनिधि दीपक कुँवरका अनुसार २०८२ असार २० गते सम्झौता भए पनि वर्षायाम र प्राविधिक कारणले काम ढिलो सुरु भएको हो। “सम्झौता अवधिभित्रै, सम्भव भएसम्म त्यसअगावै पुल सम्पन्न गर्ने लक्ष्यसहित हामी काम गरिरहेका छौं,” उनले बताए।

कार्यक्रम गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) को सभापतित्वमा सम्पन्न भएको थियो। वडाध्यक्ष शाहीले भने, “दशकौँदेखि पुलको अभावमा स्थानीयले भोग्दै आएको समस्या अब अन्त्यतर्फ जानेछ। यो पुल हाम्रो वडाका लागि दीर्घकालीन उपलब्धि हो।” कार्यक्रममा गोदावरी–३ का वडाध्यक्ष तेजराज अवस्थी, कृष्णपुर–५ का वडाध्यक्ष टेकराज पाण्डेय, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।

पुल नहुँदा नदी वारपार गर्न जोखिम मोलेका स्थानीय शिलान्याससँगै उत्साहित देखिएका छन्। उनीहरूले अब आवतजावत सुरक्षित र सहज हुने विश्वास व्यक्त गरेका छन्।



































