
नेपाल चेम्बर अफ कमर्श सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग पाँच बुँदे प्रतिबद्धता माग गरेका छन्। अत्तरियामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले आगामी नेतृत्वले सुदूरपश्चिमको समग्र विकासलाई प्राथमिकतामा राख्न स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता औँल्याएको हो।

अभियानका अभियन्ता विनोद मल्लले प्रस्तुत पाँच बुँदे माग सुदूरपश्चिमको आर्थिक, औद्योगिक तथा सामाजिक समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको बताए। उनका अनुसार नीति निर्माण तहमा पुग्न चाहने उम्मेदवारहरूले विकास, लगानीमैत्री वातावरण, रोजगारी सिर्जना र निजी क्षेत्रको संरक्षणजस्ता विषयमा स्पष्ट धारणा राख्नुपर्छ।

पत्रकार सम्मेलनमा अभियानले सबै उम्मेदवारलाई समान रूपमा प्रतिबद्धता जनाउन आह्वान गर्दै, चुनावी घोषणामा सीमित नभई कार्यान्वयनयोग्य योजना प्रस्तुत गर्न आग्रह गरेको छ। अभियानका अनुसार यी प्रतिबद्धताले सुदूरपश्चिमको दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।



































