
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास परियोजना (रुडुप) अन्तर्गत ढल निकास तथा सडक निर्माण कार्य आजदेखि औपचारिक रूपमा सुरु भएको छ । गोदावरी नगरपालिका भित्र ८ ओटा विभिन्न वडाका सडक पूर्वाधारलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको हो ।


सडक तथा ढल निकास को कुल बजेटको पछिल्लो लागत ३२ करोड ५९ लाख बराबरको सडक निर्माण हुँदै गरेको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले पुजापाठ गर्दै निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । उहाँका अनुसार योजना छनोट, प्राविधिक मूल्यांकन र टेन्डर प्रक्रिया पूरा भएपछि आजबाट भौतिक निर्माण सुरु गरिएको हो । यस परियोजनाले नगरभित्रको शहरी पूर्वाधार सुदृढ बनाउँदै सडक, ढल निकास र सहायक संरचनामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।

परियोजनाका ई. भूपेन्द्र मण्डलकाअनुसार परियोजनाको समयावधि विस्तारसँगै थप प्याकेजमा विभिन्न सडकखण्ड समावेश गरिएका छन् । तीमध्ये अत्तरिया रिङरोडसहित थप ८ सडक, ६ लेन सडकदेखि आँखा अस्पताल जाने मार्ग, शान्तिटोल–तेघरी सडकखण्ड, ग्वासी–खमौरा सडक, मालाखेती नहरदेखि पश्चिम ओलानी जाने बाटो तथा लालपुर गौडीदेखि पूर्वतर्फको सडकखण्ड प्रमुख छन् ।

नगरप्रमुख भट्टले नागरिकलाई धैर्य र सहयोगका लागि अपिल गर्दै भन्नुभयो—
“निर्माणका क्रममा केही समय असुविधा हुन सक्छ। तर यो असुविधा स्थायी विकासका लागि हो। नगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सबै नगरवासीको सहकार्य आवश्यक छ। पारदर्शिता र गुणस्तरमा हामी कुनै सम्झौता गर्नेछैनौं।”

गोदावरी नगरपालिकाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। शिलन्यास कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष शुद्धि राम चौधरी,M/S KSNS-BCPL Joint Venture का अध्यक्ष दिनेश मल्ल, निर्माण आयोजनाका म्यानेजर अशोक पाण्डे लगायत प्राविधिक तथा अन्यको उपस्थिती रहेको थियो।




























